Logo

व्यवस्थित विकास नहुँदा विपत् बढ्यो



काठमाडौं, साउन ८ । गृहमन्त्री बालकृष्ण खाँणले भूगोल र वातावरणअनुसार विकास निर्माण नहुँदा विपत् बढिरहेको बताएका छन् । सङ्घीय संसद्को राज्य व्यवस्था समितिमा विपत् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आयोजित बैठकमा उनले गृह मन्त्रालयले विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

गृहमन्त्री खाँडले भने “आमनागरिकको सुरक्षा एवं विपत्मा परेर अकालमै कसैको मृत्यु नहोस् भन्ने कुरामा सरकार गम्भीर र प्राथमिकताका काम गरेको छ, विकास निर्माण वातावरणीय रूपमा हेर्नुभन्दा पनि जसरी भए पनि विकास गर्ने होडबाजीलाई हामीले पुनः विचार गर्नुपर्ने छ, काम गराइको तरिकालाई मूल्याङ्कन गर्नुपर्ने अवस्था छ ।”

त्यस अवसरमा मन्त्री खाँणले नदी र चुरेको उत्खननले गम्भीर समस्या ल्याउँछ भन्नेमा सरकार गम्भीर रहेको चर्चा गरे । विपत् अकल्पनीय हुने उनको भनाइ छ । बैठकमा सांसदहरूले विपत् व्यवस्थापनको पूर्वतयारी, उद्धार, राहत वितरण तर पुनः स्थापनाका बारेमा गृहमन्त्रालयले गरिरहेको काम प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।

मनसुनजन्य विपत्का घटनामा यस वर्ष हालसम्म ६१ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिना तीन दिनको अवधिमा बाढी, पहिरो तथा वर्षका कारण जनधनको क्षति भएको हो । हालसम्म बाढी, पहिरो र अविरल वर्षाका घटना ३३२ वटा भएका छन् । गृह मन्त्रालयका अनुसार गत जेठ २८ देखि असार ३१ गतेसम्म मनसुनजन्य विपत्का घटनामा ३५ जना बेपत्ता तथा ३२ जना घाइते छन् भने विस्थापित परिवारको सङ्ख्या ९०८ पुगेको छ ।

गृह मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा ६३ वटा बाढी, १४४ वटा पहिरो र अविरल वर्षा १२३ रहेका छन् । मृत्यु हुनेमा बाढीबाट २८, पहिरोबाट २६ र अविरल वर्षाबाट सात रहेका छन् । बाढीमा बेपत्ता हुनेको सङ्ख्या २९ छ भने छ जना पहिरोमा अझै बेपत्ता छन् ।

बाढीबाट घाइते हुनेका सङ्ख्या १९ छ भने विस्थापित हुने परिवार सङ्ख्या ८६४ रहेको छ । पहिरोमा घाइते हुनेको सङ्ख्या २७ छ भने ४४ परिवार पहिरोबाट विस्थापित भएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्