Logo

गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना नवलपुरमा



नवलपुर, ८ साउन । गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले नवलपुरमा भएको सवारीसाधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रुपमा नवलपुर रहेको र त्यहाँ गत वर्ष मात्रै त्यहाँ २०० सवारीसाधन दुर्घटनामा परेका बताए।

“नवलपुरमा भएको १३८ दुर्घटनामा २०० सवारीसाधन परेका थिए”, उनले भने, “दुर्घटनासँगै यो जिल्लामा दुर्घटनामा परेर भएको मानवीय क्षतिसमेत प्रदेशका अन्य जिल्लामाभन्दा बढी छ ।” सबैभन्दा कान्छो जिल्लामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४३ पुरुष, चार महिला र दुई बालक रहेका र दुर्घटनामा परी १३९ जना सख्त घाइते भएका थिए । प्रहरी प्रमुख ढकालका अनुसार यस प्रदेशमा बढी दुर्घटना हुने दोस्रो जिल्ला तनहुँ भएकोे छ । त्यहाँ ९० वटा दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका र दुर्घटनामा १२८ वटा सवारीसाधन परेका थिए ।

तनहुँमा भएको दुर्घटनामा ३७ पुरुष, आठ महिला तथा तीन बालकले ज्यान गुमाएका थिएभने ७६ जना सख्त घाइते भएका थिए । प्रादेशिक राजधानीसमेत रहेको पोखरा भने बढी दुर्घटना हुने जिल्लामध्ये तेस्रो नम्बरमा परेको छ । यहाँ गत वर्ष ६४ दुर्घटनामा ९३ वटा सवारीसाधन परेको र ती दुर्घटनामा परी ४३ जनाले ज्यान गुमाएका प्रहरी उपरीक्षक ढकालले बताए ।

कास्कीमा भएको दुर्घटनामा ३८ पुरुष, चार महिला र एक बालकले ज्यान गुमाएका थिए भने ती दुर्घटनामा सख्त घाइते हुनेको सङ्ख्या ६४ पुगेको थियो । प्रदेशमा भएका दुर्घटनाको सङ्ख्याको हिसाबमा स्याङ्जा जिल्ला आठौँ नम्बरमा रहे पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।

यसैगरी बागलुङमा २३ वटा दुर्घटना १६ जनाले ज्यान गुमाएका र नौ जना सख्त घाइते भएका प्रहरी प्रमुख ढकालले बताए । गत आर्थिक वर्षमा लमजुङमा २० वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु २४ जना सख्त घाइते भएका र ती दुर्घटनामा २२ वटा सवारीसाधन परेका थिए ।यस्तै गोरखामा भएको १७ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

पर्वत र म्याग्दीमा भएको सवारीसाधन दुर्घटनामा परी आठ÷आठ जनाले ज्यान गुमाएका थिए । प्रहरी प्रमुख ढकालका अनुसार पर्वतमा १८ दुर्घटनामा १९ वटा सवारीसाधन परेका थिए भने म्याग्दीमा भएको १२ दुर्घटनामा १२ वटै सवारीसाधन परेका थिए । ती दुर्घटनामा पर्वतमा १३ तथा म्याग्दीमा १२ सख्त घाइते भएका थिए । हिमाली जिल्लाको रुपमा रहेको मुस्ताङमा भएको पाँच वटा दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । ती दुर्घटनामा संलग्न छ वटा सवारीसाधनबाट चार पुरुषको मृत्यु र एक सख्त घाइते भएका थिए ।
यस्तै हिमाल पारीको अर्को जिल्ला मनाङमा एउटा मात्रै भएको दुर्घटनामा छ जनाको मृत्यु भएको र अन्य दुई सख्त घाइते भएका थिए । –टेकराज पोखरेल रासस



प्रतिक्रिया दिनुहोस्