Logo

जाजरकोटमा पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने



जाजरकोट, ८ साउन । जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुगे । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताए ।

आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त रु ५० हजारको चेक भुक्तानीका लागि उनी सदरमुकाम आएका हुन् । आदर्श मावि लुहादहको घेराबारको काम गरेबापत गाउँपालिकाले उहाँलाई रु ५० हजारको चेक दिएको थियो ।

चेक लिएर आएको र बैंकमा लाइन कुर्न थालेको १४ दिन बितिसकेको छ तर काम भने ज्यूँकात्यूँ रहेको दमाईंले भने । लाइन बस्दाबस्दा दिक्क लागेर आएको उनको भनाइ छ । “सदरमुकाम पहिलो पटक आएको हुँ, यहाँ कसैलाई चिन्दिन, काम पनि हुँदैन, के अचम्म हो यस्तो ? होटलको बास बस्दा आजसम्ममा रु सात हजार ८०० खर्च भइसकेको छ ।”

आउँदा दुई हजार ५०० गाडी भाडा खर्च गर्नुभएकी दमाईंको जाँदा पनि सोही रकम खर्च हुनेछ । निम्न आर्थिक अवस्था रहकी दमाइको घरमा बिरामी श्रीमान् र छ वटा छोराछोरी छन् । घरको सबै काम उनकै काँधमा छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाएको रु ५० हजार सदमुकामको होटल बास र आउने जानेमै सकिने हो कि भन्ने चिन्ताले पिरोलिएको छ”, उनले भने, “बिहान ५ बजेदेखि लाइन बसेको बेलुकी ४ बजेसम्म बल्लबल्ल पालो आउँछ । आएको पालोमा पनि कहिले इन्टरनेट चलेन, त कहिले रकम नै छैन भन्दै रकम नदिएर भोलि आउन सल्लाह दिँदै दिन बितिरहेका छन् ।”

उनीजस्तै जुनिचाँदे गाउँपालिका–४ का शङ्कर खड्का सदरमुकाम १४ दिन बिताएर बल्लबल्ल रकम भुक्तानी लिएको बताए । सङ्घीय खानेपानी आयोजनाअन्तर्गत काम गरेको पारिश्रमिक लिन आएका ६८ वर्षीय खड्काले भुक्तानी रकमको आधा बजेट होटल र यातायातमा खर्च भएको पीडा पोखे । उनीसहित एकै योजनाका तीन जना सदरमुकाम आउँदा र धेरै दिन बैंकले झुलाउँदा धेरै खर्च भएको हो ।

जुनिचाँदे –१ का नरसिंह दमाईं जनता आवासअन्तर्गत काम गरेको पारिश्रमिकबापत रकम लिन आएको एक हप्तापछि आधा रकम सदरमुकाममै खर्च भएको बताए । निकासा भएको रकमको आधा सदरमुकाममै सकिँदा अब ऋण कसरी तिर्ने भन्ने चिन्ता दमाईंको छ । रु ४७ हजार ५०० रकम लिन उहाँ सदरमुकाम आउँदा भाडा, बास र नास्तामा धेरै खर्च भएको थियो । बैंक र कार्यालयमा काम ढिला हुँदा यसरी समस्या भएको थियो ।

उनीहरु जस्तै जुनिचाँदे गाउँपालिकाबाट बैंकको काम लिएर सदरमुकाम आउने अधिकांशको काम नहुँदा र भए पनि हप्ता दिन बढी बस्नु पर्दा पारिश्रमिकबापत पाउने रकमको आधा सकिने गरेको हो । गाउँमा बैंक नहुँदा यहाँका सर्वसाधारण सदरमुकामस्थित कृषि विकास बैंकमा आउने गरेका छन् । गाउँपालिकाको केन्द्रका विषयमा विवाद भएपछि जुनिचाँदेमा बैंक स्थापना हुन सकेको छैन । रासस



प्रतिक्रिया दिनुहोस्