Logo

नेपालतिर बढ्दै गरेको रेल्वेलाइनमा चिनियाँ राष्ट्रपति सीको चासो



एजेन्सी, ८ साउन । चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहिबार तिब्बत पुगे । उनी तिब्बतको दक्षिणपश्चिम शहर निग्ची, ल्हासालगायतका सहरमा भइरहेको विकासको अवलोकन गरे । यसपटकको तिब्बतको यात्रामा उनले रेल्वे लाइनमा चासो दिएका छन् । जसमध्ये नेपालसँगको सीमातर्फ बढ्दै गरेको लाइन पनि थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले उनी बिहिबार निग्ची पुगेको र त्यहाँबाट तिब्बतको राजधानी ल्हासा पुगेको उल्लेख गरेको छ । निग्चीमा उनले सिचुवान तिब्बत रेल्वे आयोजना र ल्हासा–निग्ची रेललाइनको अवलोकन गर्न पुगेका हुन् ।

ल्हासा–निग्ची रेललाइन जुन महिनामा सुरु भएको थियो । उनले त्यसको पनि अवलोकन गरे । सिचुवान रेललाइनको निर्माण पनि उनले अवलोकन गरेका थिए ।

निग्ची रणनीतिक यातायात सञ्जालको हब हो । यहाँ बुलेट रेल चल्न थालेको छ । सी जिनपिङले पछिल्लो समय तिब्बतलाई निकै महत्व दिएका छन् । तिब्बत चीनका लागि रणनीतिक महत्वको क्षेत्र भइसकेको छ । भारत, नेपाल, भुटानसँग सीमा जोडिएकाले चीनका लागि तिब्बत महत्वपूर्ण भू–भाग बनेको हो ।

ग्लोबल टाइम्सले चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेशनल रिलेसनको इन्स्टिच्युट अफ साउथ एशियन स्टडिजका उपनिर्देशन लु चुनहाओको भनाई उदृत गर्दै चीनले आगामी पाँच वर्षमा सीमा क्षेत्रमा विकासका आयोजनाहरु सुचीकृत गरेर बढाएको छ । सीमाका देशहरुसँग यसको असर आर्थिक प्रभाव पर्ने उल्लेख गरिएको छ ।

लुको भनाई उदृत गर्दै ग्लोबल टाइमसले रेल्वे विकासले नेपालसँगको व्यापार र आर्थिक सम्बन्धलाई सहज बनाउने उल्लेख गरेको छ । पूर्वाधार कनेक्टिभिटी सुधारिएमा तिब्बतबाट दक्षिणपश्चिम चीनको सीमा अझ खोलिन गई व्यापार विस्तार हुने भनिएको छ ।

सिचुवान तिब्बत रेल्वेलाई चीनको राष्ट्रिय रेल्वे विकासको महत्वपूर्ण आयोजना मानिएको छ । तिब्बतमा निर्माण भइरहेको रेल्वे नेपालतर्फ पनि बढ्दै गएको छ । नेपालसँग नजिक ल्हासाबाट सिगातसेसम्म रेल सञ्चालनमा आइसकेको छ । सन् २०२२ मा सिगात्सेबाट गिरोङसम्म रेल्वे लिंक निर्माण पूरा हुँदैछ । रसुवाको उत्तरीसीमाबाट गिरोङसम्म बन्दै गरेको रेल्वे प्वाइन्टको दूरी २५ किलोमिटर मात्र छ ।

सन् २०२२ मा गिरोङसम्मको रेल्वे लाइन पूरा भएपछि रसुवागढी हुँदै काठमडौंसम्म रेल्वेलाइन जोड्ने योजना रहेको छ । यो योजनामा नेपाल र चीनको मात्र नभई विश्वका शक्तिशाली देशकै चासो रहेको छ ।

तस्बिर स्रोतः सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्