Logo

प्रतिनिधिसभामा रोचक सवाल जवाफ : निशानामा नेम्वाङ



साउन ८, काठमाण्डौ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिन रोष्टममा पुगेका नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्न भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको बताए । आफूलाई कानुनको विद्यार्थी भन्दै सम्बोधन गरेका नेम्वाङले सर्वोच्च अदालतले जनादेशबाट प्रधानमन्त्री बनाएको र दललाई ह्पिव लगाउन नपाउने आदेश दिएको प्रति असन्तुष्टी जनाए । नेम्वाङले सर्वोच्चको असार २८ गतेको फैसलाले धेरै प्रश्न उठाएको बताए । त्यसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई खलबल्याएको पनि उनको दाबी थियो ।

संसदमा खासै नबोल्ने नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले भने कानुनका विद्यार्थी नेम्वाङलाई संविधानको धारा ७६ को उपधारा ५ को मर्म पढाउने प्रयास गरे । नेम्वाङप्रति सिंहले कटाक्ष गर्दै संविधानको गलत व्याख्या गर्न खोजेको आरोप लगाए । ब

नेम्वाङले प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रीमण्डललाई पूर्णता दिन आग्रह गर्दै यसअघिका प्रधानमन्त्री केपी ओलीले गरेका राम्रा कामलाई निरन्तरता दिन आग्रह गरे । ओलीको प्रधानमन्त्रीकालमा धेरै राम्रा काम भएको नेम्वाङको दावी छ ।

नेम्वाङको सम्बोधनपछि बोलेका सिंहले ओली सरकारले राम्रा काम गरेको छ भन्ने दावीको पनि कटाक्ष गर्न भ्याए । सिंहले ओलीले भाषण गरेका तर काम नगरेका उदाहरण प्रस्तुत गरेका थिए ।

तेस्रो नम्बरमा सम्बोधन गर्न आएका नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले पनि प्रतिपक्षी दलका सांसद नेम्वाङको सम्बोधनप्रति असन्तुष्टी व्यक्त गरे । संविधानको धारा ७६ को उपधारा ५ कै वरिपरिमा भएको सवाल जवाफमा गजुरेलले संविधान जारी हुँदाका बेला सभामुख रहेका नेम्वाङले नै संविधानको रक्षा गर्न नचाहेको आरोप लगाए । गजुरेलले नेम्वाङको मात्रै होइन, संविधान नमान्ने काम राष्ट्रपति र तत्कालिन प्रधानमन्त्री केपी ओलीबाटै भएको भन्दै असन्तुष्टी जनाए ।

जनता समाजवादी पार्टीका सांसद अनिलकुमार झाले नागरिकतासम्बन्धी अध्यादेश जतिसक्दो चाँडो संसदबाट पारित गराउनुपर्नेमा जोड दिए । आफ्नो दलले उठाएका अन्य मागहरु पनि तत्काल पूरा गर्न झाले सरकारको ध्यानाकर्षण गराए ।

जसपाकै अर्का सांसद महेन्द्र राय यादवले विगतमा ओली सरकारले मधेशी दललाई विभाजन गर्न अध्यादेश ल्याएको स्मरण गर्दै त्यसको विरोध गरे । साथै बहुमत सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आग्रह गर्दा अस्वीकार गरेर संविधानविरितको काम गरेको आरोप लगाए । राष्ट्रपतिकै गलत भूमिकाका कारण सर्वोच्चको ढोकामा जानुपरेको यादवले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले सत्ता राजनीतिको फोहोरी खेलले संसद प्रभावित भएको बताए । संविधान निर्माण गर्दा शब्द शब्दमा छलफल गरे पनि अहिले विवाद आएकोले अब वर्तमान प्रणाली नै फेर्नुपर्ने बताए । लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देउवा सरकारको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको भन्दै अवसरलाई प्रयोग गरेर चुनौतिलाई परास्त गर्न सुझाब दिइन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तह र प्रदेशको अधिकार खोस्न नहुने बताए । सरकारमा गएपछि गैरजिम्मेवार बन्ने प्रवृत्रिको अन्त्य नगर्न सुवालले सुझाब दिए । नेताको विदेशमा गरेको खर्च बेहोर्ने नभै स्वदेशमै राम्रो अस्पताल बनाउनेतर्फ लाग्न उनले ध्यानाकर्षण गराएका छन् ।

अन्तिममा धन्यवाद ज्ञापन गर्न रोष्टममा पुगेका प्रधानमन्त्री देउवाले सुरुमै सुवास नेम्वाङलाई कटाक्ष गरे । देउवाले बोल्ले बेला बैठकबाट बाहिरिएका नेम्वाङलाई देउवाले संविधानको धारा ७६ को उपधार ५ को व्यवस्था किन राखिएको भनेर प्रश्न गरे । संविधान जारी गर्दाका बेला संविधानसभाका अध्यक्ष नेम्वाङले त्यसबेला संसद भंग गर्न मिल्ने व्यवस्था नराखिएको भनेर आफैले बोलेको देउवाले स्मरण गराए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अह्वान गरेअनुसार आफू बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि जाँदा अस्वीकार गरेर गलत गरेको देउवाले अरोप लगाए । सांसदहरुलाई सनाखत गराएर प्रधानमन्त्री नियुक्ति गरेर विश्वासको मत लिन संसदमा पठाउनुपर्नेमा त्यसो नगरेर संविधानविपरितको काम गरेकाले अदालत जानुपरेको देउवाले बताए ।

नेम्वाङले नेपाली कांग्रेस र माओवादीले आफ्ना सांसदलाई ह्विप लगाएर देउलालाई विश्वासको मत हाल्न लगाएको तर एमालले भने ह्विप लगाउन नपाएको बताएका थिए । त्यसको जवाफमा देउवाले आफूहरुले ह्विप लगाएको नभै विश्वासको मत दिन आग्रह मात्रै गरिएको बताए । प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता सबै जनतालाई कोरोनाविरुद्धको खोप लगाउनु रेहेको बताए ।



प्रतिक्रिया दिनुहोस्