Logo

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित



काठमाडौं, ८ साउन । राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिए ।

नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गरे ।

नेकपा (एमाले) का खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो की भन्ने आशङ्का बढेको बताए ।

उनले भने, “अदालतको फैसलाबाट सरकार गठन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य छ, केपी ओलीको विरोध गरेर यो सरकारले सुख पाउँछ रु” उनले संसद्मा एमालेले रचनात्मक भूमिका खेल्ने सुनाए ।

यस्तै नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गरे । उनले ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पारे । “देउवा सरकारले कसरी विश्वासको मत प्राप्त ग¥यो भन्ने कुरा एमालेले बुझ्नु जरुरी छ”, सांसद शर्माले भने ।

यस्तै नेकपा एमालेका भगवती न्यौपानेले एमालेले न्यायालयको फैसलाको सम्मान गरेपनि सो फैसलाप्रति असहमति रहेको उल्लेख गरे । “अदालतको फैसला निर्दलीयताको पक्षमा छ, सिधै प्रधानमन्त्री तोक्नु गलत हो, यसमा तार्किक ढङ्गले बहस गरिनुपर्छ”, सांसद न्यौपानेले भने ।

यसैगरी नेकपा एमालेका रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताए । ओली सरकारले पहल गरेको खोपको सुनिश्चितता गर्दै सबैलाई खोप उपलब्ध गराउन उनले माग गरे ।

यस्तै नेकपा (एमाले) का सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । “यो विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ”, उनले भने । विदेशबाट फर्किएका युवालाई वैकल्पिक रोजगारको व्यवस्था गर्न सांसद कुँवरले सरकारसँग माग गरे । रासस



प्रतिक्रिया दिनुहोस्