Logo

हामीले न्यायोचित काम गरेका छौं, यसमा गौरवबोध छ : माधव नेपाल



काठमाडौं, ८ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको लागि गम्भीर भएर लागेको र संयमित भएको स्पष्ट पारेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले भने एकपछि अर्को षड्यन्त्र गरेको उनको टिप्पणी छ । उनले भने,‘आज सुध्रिन्छन् कि भन्यो, सुध्रिनेवाला देखिएन । मैले त सार्वजनिक कार्यक्रममा बोल्दापनि साथीहरले एकतामा असर पर्ला है भनेर बोलने बेलामा मलाई संयमित बनाउनुहुन्छ, हिजै पनि पुष्पलालको स्मृति दिवसमा चम्पादेवीमा आयोजित कार्यक्रममा साथीहरुले त्यही भन्नुभयो । म त ख्याल गरेर बोलिरहेको छु ।’

आज (शुक्रबार) पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै उनले आफूले नेता तथा कार्यकर्ताहरुलाई जनताको मन जित्नेगरि काम गर्न भनेको पनि सुनाए । उनले भने,‘हिजोमात्रै मैले पिपुल्स भोल्युन्टियर्सको उद्घाटन गरें । मैले युवाहरुलाई डन प्रवृत्ति नसिक्नुहोस भनेको छु । बाँदरे प्रवृत्ति नबोक्नु भनेको छु ।’ उनले केपी ओलीको प्रवृत्तिको विरोध गर्दै ओली अझै कमजोर हुँदै जाने पनि टिप्पणी गरे ।

उनले भने,‘एक्लो बहुमत प्राप्त गरेको कम्युनिष्ट पार्टी, १२१ सिट एमालेको थियो, ९३ हुँदै अस्ति त ८३ मा फर्यो । अझै कति घट्ने हो ठेगान छैन् ?’ उनले अध्यक्ष ओलीले आफ्नै पार्टीको अन्तरविरोधको ठीक पहिचान गर्न नसकेको भन्दै ओलीबाट समाजको अन्तरविरोध के समाधान हुन्छ ? भन्दै प्रश्नसमेत गरे ।

उनले आफूहरुले पद, प्रतिष्ठा र ईगोको लडाई संघर्ष नगरेको पनि स्पष्ट पारे । उनले अहिलेपनि पार्टीभित्र अविश्वासको खाडल देखिएको सुनाए । उनले भने,‘यसको गहिरो चिरफार गर्नुहोस । अस्ति साउन ३ गतेको दिन, ठूलो षड्यन्त्र हुनेवाला थियो । एउटा प्रधानमन्त्रीले दुई पटक संसद सिध्यायो । साउन ३ गते ठुलो षड्यन्त्र थियो । विश्वासको मत लिन नदिने षड्यन्त्र थियो । तर, हामीले संसदको रक्षा गरेका छौं । कार्यापालिका, न्यायापािलकाको रक्षा गरेका छौं । हामीले न्यायोचित काम गरेका छौं । संविधानसम्मत् काम गरेको छ । यसमा हामीलाई गौरवबोध छ । मलगायत २२ जना सांसदलाई म त उहाँहरुलाई योद्धा नै भन्छु, उहाँहरुलाई पनि लालसलाम । हाम्रै समूहका ११ जना सांसदहरु, जो बैठकमा बस्नुभएन उहाँहरुलाई सलाम छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्