Logo

चेम्वरद्वारा अर्थमन्त्री समक्ष आर्थिक गतिबिधिलाइ बिस्तार गर्ने सुझाव प्रस्तुत



काठमाडौं, ८ साउन । नेपाल चेम्वर अफ कमर्सका राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा आज अर्थमन्त्री जनार्दन शर्मा समक्ष भेटवार्ता गरेको छ । उक्त अवसरमा अध्यक्ष मल्लले गणतन्त्र नेपालको अर्थमन्त्री पदमा नियुक्त भएका शर्मालाई नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका हुन् ।

मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्नु हुंदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको वताउनु हुंदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे ।

यसका अतिरिक्त मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने, बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह गरे ।

त्यसेैगरी, घर जग्गा कारोवारलाइ ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनु पर्ने, डिजीटल कारोवारलाइ प्राथमिकता दिइनु पर्ने तथा चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाइ कालो सूचीमा राख्ने, साना व्यवसायहरुलाइ सहजीकरण गर्न कुल कारोवारको सिलिङ वढाउनु पर्ने सुझाव प्रस्तुत गरे । उक्त अवसरमा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाइ उकास्न औद्योगिकरणको माध्यमबाट मात्र संभव भएको बताउदै आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए । यस सन्दर्भमा सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताए । नेपाल चेम्वर अफ कमर्सको प्राप्त सुझावका लागि धन्यबाद ज्ञापन गरे ।

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको तथा राजश्व समितिका सभापति पर्शुराम दाहालको पनि उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्