Logo

सुजिताको ‘हाँडनाता सम्बन्ध’, दाजुले विवाह गर्न नमानेपछि आत्महत्या



चितवन, ८ साउन । ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीका ‘हाँडनाता’ सम्बन्ध खुलेको छ । उनको ठूलोबुवाका छोरा सचिन भनिने सुकदेव भण्डारीसँग सम्बन्ध खुलेको हो ।

उस्तै उमेरका सुजिता र सुकदेव लिभिङ टुकेदरमा पनि काठमाडौं बसेको पत्ता लागेको हो । उनीहरुबीच लामो सम्बन्ध रहेको र सुजिताले सुकदेवलाई विवाहका लागि दबाब दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा चितवन प्रहरीका डिएसपी एवं घटनाका अनुसन्धान अधिकृत इन्द्रबहादुर रानाले विवाह गर्न सुजिताले दबाब दिएको जानकारी दिएका छन् । ९ असारमा दुवैबीच टेलिफोन कुराकानी भएको र सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले जेसुकै गरे हुन्छ भनेका थिए ।

सुजिताले अनेकन धम्की दिंदा पनि सुकदेव विवाह गर्न राजी नभएपछि आत्महत्याको निर्णयमा पुगेकी थिइन् ।

सुकदेव झापा गाउँपालिका शरणमतीका हुन् । सुकदेवका बाबु र सुजिताका बाबु नुवाकोटबाट झरेका थिए । सुकदेवका बुवा झापा बसाईं सरेका थिए भने सुजिताका बाबु चितवनमा बसाईं सरेका थिए ।

सुकदेवलाई बिहिबार काठमाडौंबाट पक्राउ गरी चितवन लगेको डिएसपी इन्द्रबहादुर रानाले बताए । घटनामा सुकदेवले सुजितालाई आत्महत्याका लागि वाध्य पारेको खुलेको छ ।

११ असारमा घरबाट हराएकी भण्डारी २० असारमा सामुदायिक वनमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

राप्ती नगरपालिकाकी २३ वर्षीय सुजिताको परिवारले सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा समेत दर्ता गरेको छ । सुजिताको हत्या भएको कुनै प्रमाण नभेटिएपछि प्रहरीले आत्महत्या भएको निष्कर्ष निकालेको थियो । अनुसन्धानमा सुजिताको सुकदेवसँगको सम्बन्ध खुलेको थियो ।

विभिन्न कोणबाट अनुसन्धान गर्दै शंकास्पद एक सयभन्दा बढीसँग सोधपुछ समेत गरेको थियो । तर, सुजिताले आत्महत्या गरेको प्रमाणहरु बलियो देखिएको थियो । उनको शव भेटिएको स्थान नजिकै बोतलमा सेतो पद्धार्थ समेत भेटिएको थियो । पोष्टमार्टमले पनि आत्महत्याको प्रमाणहरु फेला परेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्