Logo

कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान



कालिकोट, ८ साउन । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान भएको छ । अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक बहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटअनुसार अस्पतालले उक्त प्लान्ट जडान गरेको जानकारी दिए ।

अक्सिजन प्लान्ट जडानपछि अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले अबदेखि अक्सिजनको अभाव नहुने बताए । उनले भने,‘हिजो दिनसम्म यहाँ अक्सिजनको अभाव थियो । हामी ग्याँस भर्न नेपालगन्ज जानुपर्दथ्यो । त्यहाँ जाँदापनि तुरुन्तै पाउँदैन थियो, धेरै समय कुर्नुपर्दथ्यो । अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं, यो हाम्रो लागि खुशीको कुरा हो । अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नुपर्दैन् । हाम्रो अस्पताललाई त सजिलो भयो, यसले दैलेख, अछाम, मुगु, बाजुरा, कालिकोट, जुम्ला, हुम्लासम्मलाई अक्सिजन फिलिङ गर्न सहयोग पुग्छ ।’

 

अक्सिजन जडानले कालिकोटका नागरिकको जीवन रक्षाको सहयोग पुगेको भन्दै उनले यसकोलागि विशेष पहल गरिदिने र बजेट छुट्टयाईदिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विशेष धन्यवादसमेत ज्ञापन गरेका छन् । उनले भने,‘उहाँको विशेष सहयोगबाट हामी यो प्लान्ट जडान गर्न सफल भएका छौं । यसको लागि माननीय मुख्यमन्त्रीज्यूलाई कालिकोटका जनताको तर्फबाट पनि विशेष धन्यवाद भन्न चाहन्छु ।’

जडान कार्यक्रममा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण शाही र लेखा अधिकृत मुनबहादुर रावलले पनि सबैको सकारात्मक सहयोग र योगदानका कारण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताएका छन् । र, आगामी दिनमा अस्पतालमा अब अक्सिजनको अभाव नहुने पनि उनीहरुको विश्वास छ । उनीहरुले यसको लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मन्त्रालयका सचीव, सामाजिक विकास मन्त्रालय, निर्देशक, स्वास्थ्य सेवा निर्देशनालयलगायत सहयोग गर्ने सबै ब्यक्ति तथा संघ÷संस्थाप्रति हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

जिल्ला अस्पताल कालिकोट चौरमा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त विद्युत आपूर्तिको आवश्यक भएकोले सोको लागि नियमित विद्युत आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा महतले आग्रह गरेका छन् ।

अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी मुनरक ईन्टरनेश्नल प्रा.ली.का प्रवन्ध निर्देशक ई. प्रशान्त झाले सबैको साथ र सहयोगले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै यसमा साथ र सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्