Logo

जसपाको छिनोफानो रोक्न ठाकुर पक्ष अदालत पुग्यो



काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेको छ । जसपा विवाद निरुपण गर्न ११ साउनमा आयोगले मिति तोकेर केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने निर्णय लिएपछि त्यसविरुद्ध ठाकुर पक्ष अदालत पुगेको हो ।

ठाकुरले निर्वाचन आयोग र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका छन् । रिटमा अध्यक्ष ठाकुरले जसपाको केन्द्रीय कार्यकारिणी समितिलाई अद्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया नबढाउने आदेशको माग गरेका छन् । रिटमा उनले अहिलेको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि अन्तरिम आदेश जारी गरी निर्णय रोक्न माग गरेका छन् ।

ठाकुर अदालत पुगेपछि ११ असारमा हुने केन्द्रीय कार्यकारिणी समितिका सदस्यको गणना र पक्षको टुंगोसँगै जसपा विवादको छिनोफानो अन्यौलमा परेको छ । ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अदालत पुगेर रोकाउन खोजेको विश्लेषण हुन थालेको छ ।

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् । तर, ठाकुरले केही आफूपक्षीय केन्द्रीय कार्यकारिणी सदस्य थपेर बहुमत बनाएका छन् । उनले थपिएकाको नाम थपेर अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्