Logo

‘मतदाता हेरेर शिक्षक बढुवा गर्ने विकृति हट्नुपर्छ’



काठमाडौं, साउन ९ । विद्यालय तहमा कार्यरत शिक्षकहरूको साझा संगठन नेपाल शिक्षक महासंघ विद्यालय शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको छ।

हाल स्थानीय सरकारको एकल अधिकारमा शिक्षा भएकै कारण शिक्षकहरूको कार्यसम्पदान मूल्यांकनमा पालिकाहरूले भोटर हेरेर नम्बर चढाउने विकृति बढ्दै गएको आरोप महासंघले लगाएको छ।

हाल विद्यालय शिक्षाको व्यवस्थापनका सम्पूर्ण अधिकार संविधानले नै स्थानीय तहलाई दिएकाले शिक्षा क्षेत्र अस्तव्यस्त बनेको आरोप लगाउँदै शिक्षकहरूले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संघ, प्रदेश र स्थानीय गरी तीनै तहको साझा अधिकारभित्र हुनुपर्ने माग गरेको बताएका हुन्।

शुक्रबार महासंघका सदस्य शिक्षकहरूले ३४ बुँदे मागसहित माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै तीन घन्टा धर्ना दिएका थिए। शिक्षकहरूको कार्यसम्पादन बढुवा र सरुवामा स्थानीय तहका पदाधिकारीहरूले आर्थिक चलखेल गर्ने गरेको, भोटर हेरेर मात्र नम्बर चढाउने गरेको जस्ता कार्य हुँदै आएकाले त्यस्ता विकृति रोक्न पनि तीनै तहको साझा अधिकारभित्र विद्यालय तहको शिक्षा राख्नुपर्ने शिक्षकहरूको माग रहेको आन्दोलनमा सहभागी शिक्षक नारायण गौतमले बताए।

गौतम नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष हुन्। उनले विद्यालय शिक्षा स्थानीय तहमा गएदेखि शिक्षा क्षेत्रमा ठूलो विकृति आएको औंल्याए। तलब पनि समयमा नपाउनु, स्थानीय तहले अझै पनि शिक्षामा अपनत्व देखाउन नसक्नु र शिक्षालाई महत्व नलिएकै कारण विद्यालय शिक्षा हाल अस्तव्यस्त भएको अनुभव सुनाए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्