Logo

अवकाश लिने कर्मचारी घटे



काठमाडौं, साउन ९ । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ।

निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्।

गत आव २०७७/७८ मा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारी संख्या करिब २ हजार ४ सय थियो। तर दुई वर्षअघिसम्म अनिवार्य अवकाश पाउनेको संख्या एक वर्षमै ३ हजारको हाराहारीमा रहेको निजामती किताबखानाका निर्देशक सूदन श्रेष्ठले बताए। उनका अनुसार तीन वर्षअघि करिब ३ हजार ५ सय कर्मचारीले एक वर्षमा अनिवार्य अवकाश लिएका थिए।

पेन्सन सुविधामा केही थप हुने भएपछि करिब ७ सय कर्मचारीले दुई वर्षअघि ५८ वर्ष उमेर नपुग्दै राजीनामा गरेका थिए। आव २०७५/७६ र २०७६/७७ मा ५८ वर्ष उमेर हद नपुगेरै केही कर्मचारीले राजीनामा गरेकाले यस वर्ष अनिवार्य अवकाश पाउने कर्मचारीको संख्या तुलनात्मक रूपमा कमी भएको श्रेष्ठले बताए। ‘यस वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारीहरूले दुईरतीन वर्षपहिले नै राजीनामा गरेकाले पछिल्ला दुई वर्ष अनिवार्य अवकाश पाउने कर्मचारी संख्यामा कमी आएको हो,’ श्रेष्ठले भने।

निजामती किताबखानाका अनुसार चालु साउन महिनामै चारजना सचिवले अनिवार्य अवकाश लिँदैछन्। तीमध्ये सञ्चार सचिव हरि बस्यालले साउन ६ गते अवकाश लिइसकेका छन्। कृषि सचिव योगेन्द्र कार्कीले साउन १८ बाट अवकाश लिँदैछन्। यसैगरी वाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द पौडेलले साउन २६ बाट अवकाश लिँदैछन्।

राजस्व सचिव रामशरण पुडासैनीले साउन २४ बाट अवकाश लिँदैछन्। अवकाश लिनुअघि नै उनले राजनीतिक नियुक्ति पाएका छन्। केपी ओली नेतत्व सरकारले उनलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्