Logo

बाबुरामको हिन्दु धर्मबारे ट्वीटमा भाजपा नेता चौथाइवालेको व्यङ्ग्यः जोक अफ द इयर



काठमाडौं, ९ साउन । पछिल्लो समय जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच ट्वीटरमा एक अर्काविरुद्ध लेख्ने र व्यङ्ग्य गर्ने क्रम चलिरहेको छ । आज पनि यी दुईबीच त्यस्तै चलेको छ ।

बाबुरामले धर्मबारे लेख्दै कसैले रुढीवादलाई समातेर धर्मको राजनीति गर्छ भने त्यसको विरोध गर्नुपर्ने लेखेका छन् । उनले ट्वीटरमा धर्मबारे लेखेपछि चौथाइवालेले त्यसलाई जोक अफ द इयर भन्दै व्यङ्ग्य गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘धार्यते इति धर्म:!जीवन र समाजको उचित व्यवस्थापननिम्ति देशकाल अनुरूप बनाइएका नियम नै धर्म हुन्।ती निरन्तर परिवर्तनशील हुन्छन्।तर विभिन्न कालखण्डमा घुसाइएका अन्धविश्वास,कुरिति,रूढीवाद धर्म हैनन्।तिनलाई समातेर कसैले राजनीति गर्छभने त्यसको विरोध हुनैपर्छ।यसमा कुनै किन्तुपरन्तु हुन्न।’

त्यसलाई उल्लेख गर्दै चौथाइवालले लेखेका छन् ,’जोक अफ द इयर, बाबुराम भट्टराई जस्ता कम्युनिस्टले हालै हिन्दु धर्मको अपमान गरेर अहिले धर्मको उपदेश दिइरहेका छन् ।’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुध चढाएको तस्बिर राखेर डा. भट्टराईले आफ्नो सहपाठीले लेखेको भन्दै ‘दुधलाई फाल्ने र मुत्रलाई पिउने’ भन्दै आलोचना गरेका थिए । इदको दिनमा यस्तो लेखेपछि चौथाइवालेले ट्व्टिरमा भट्टराईको आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्