Logo

कहिले उनी मसँगै, कहिले उनीसँगै म



लव गाउँले :  सन् २००२ जुन १४ देखि जुलाई २३ सम्म हुने गभर्मेन्ट एडमिनिस्ट्रेसन इन डिभलपमेन्ट कार्यक्रममा भाग लिन इकनोमी टिकटमा म थाई एअरबाट बैङ्कक उडेँ । त्यतिखेर के काकताली परेर हो, मलाई रोयल थाई लाउन्ज सुविधा उपलब्ध भयो । लाउन्जमै मज्जाले पिएर सुत्ने सिवाय अरू के काम हुन्थ्यो र !

लाउन्जमा छानी छानी इम्पोर्टेड रक्सी फ्रुट्स के खाने ? खाएर मस्त सुते पनि बाल थिएन । लाउन्ज एटेन्डेन्ट बोर्डिङ टाइममा उठाउन आइहाल्थ्यो । दुई हजार आठ सय त्रिसठी माइलको आकाशे उडानको लक्ष्य लिएर छ घन्टामा भोलिपल्ट थाई एयरमै नारिता एयरपोर्ट पुगेको पत्तै भएन । रक्सीले धुत भएर होला सायद ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) बाट कोही लिन आएको थियो । उसले मलाई टोकियोस्थित टोकियो इन्टरनेसनल सेन्टर (टीआईसी) मा छोडिदियो । सहभागीका लागि त्यहाँ ब्याचलर्स रूम (सानो कोठा) उपलब्ध थियो । कोठामा पाल सिस्टमको भिडियो क्यासेट राखेर हेर्न मिल्ने (टु-इन-वन) टिभी पनि थियो ।

म एक्लै थिएँ । पछि रमेश अधिकारी, राजेन्द्र रुपाखेती र बोधराज पौडेल थपिए । उनीहरू तीनै जना सँगै आएका थिए । केही दिनपछि त्रिभुवन विश्वविद्यालयबाट रामबहादुरजी र कानुन मन्त्रालयबाट मलाई लाग्छ, सापकोटा थर भएका ‘जी’ थपिए । सापकोटाजी असाध्यै चिप्लो बोल्ने । खल्तीचाहिँ खस्रोको खस्रै । सायद खल्ती चिल्लो पार्ने मोह बढेर हो कि ? पछि उहाँ विराटनगर अदालतमा जानु भो क्यार । गोरे सुनकाण्ड मुद्दा सुनुवाइमा यिनको दुई वर्ष बढुवा रोक्का भयो ।

रमेश अधिकारी र रुपाखेतीजीसँग त्यहाँ बसुन्जेल फर्मल बात मात्र हुन्थ्यो । तर बोधजी मसँग एकदम घनिष्ठ भैहालेँ । रमेशजी अहिले स्कटल्याण्ड बस्नुहुन्छ र उहाँसँग फेसबुकमार्फत नियमित सम्पर्क हुन्छ । रुपाखेतीजी हराए । बोधजी सन्की स्वभावका थिए । बजार घुम्न जाँदा जहिल्यै ज्योतिषविज्ञ झैँ लामा लामा टेलिस्कोप हेर्थे । हुन त उनी डिभिजनल इन्जिनियर थिए । मैले ‘यो किन हेर्नुपर्‍यो’ भन्दा ‘छोराका लागि किनूँ कि’ भन्थेँ । मलाई थाहा थिएन, उनको छोरा कत्रो थियो ? उनी मान्छे लगनशील त हुन् तर कोठामा ब्लु फिल्म मात्र हेर्ने ! म पछिपछि उनको कोठामा जानै छोडेँ ।

जापानको अखियाबारा बजार इलेक्ट्रोनिक्स सामानका लागि प्रख्यात छ । त्यहीँ वरिपरिको कुनै पाकिस्तानीको रेष्टुराँमा काम गर्ने एकजना मेरो बहिनीकी साथीले खान बोलाइन् । बोधले मलाई के छोडथे ? उनलाई लिएर गएँ । टन्न दाल, तरकारी, मासु, भात र दुई-दुई गिलास बियर खान दिएपछि उनले भनिन्— ‘दाइ, तपाईं नेपाल किन फर्कनु हुन्छ ? बाह्र महिना काम गर्नुस् र बाह्र लिएर जानुस् !’ यो बाह्र भनेको बाह्र लाख थियो…..!

मेरो सहोदर माइला बा’को छोरा मकहाँ आइरहन्थ्यो । एक दिन उसले मलाई ऊ बस्ने ठाउँमा बोलायो । मैले बोधलाई लिएर गएँ । टोकियोबाट गोतान्दा हुँदै इसिकावादाइसम्म पुग्न तीनवटा रेलमा यात्रा गर्दा कार्डले नभ्याउने भएकाले पैसा थप्दै जानुपर्ने थियो । थप्दै थप्दै त्यहाँ पुग्यौँ । भाइले दाइलाई ख्वाउने खानेकुराको बारेमा भन्नै परेन । त्यहीँ बसौँ भन्ने उनीहरूको आग्रह त हुने नै भयो । मेरो भाइ अहिले नेपालमा वकिल छ । उसको साथी वासु महर्जन (मङ्गल) ले पचास वर्ष पुरानो व्ह्स्किीको सिक्किमे शैलीको घैँटे सिसी ‘दाइलाई उपहार’ भनेर दियो । नेपाल लगेर खानेबारे सोच्दै हामी त्यहाँबाट हिँड्यौँ ।

भोलिपल्ट बिहानैदेखि बोध मेरो रुममा आउँथे । एकदुई पल्ट भन्न सकेनन् । पछि मुखै फोरे— ‘उपहार आएको रक्सी फोरौँ !’ बोतल खोलेपछि अधिकारी, रुपाखेती, बोध र मैले सिध्यायौँ । रक्सी नेपाल पुर्‍याउने मेरो सपना तुहियो । बोधको एकजना मङ्गोलियाबाट आएकी सहभागीसँग अफेएर थियो । यस्तो जँड्याहा र सन्की बाजेको अफेएर लामो समयसम्म के टिक्थ्यो र ! पछि के भयो, मलाई थाहा भएन ।

टोकियो इन्टरनेसनल सेन्टरमै अर्का एक नेपाली बस्दा रहेछन् । उनी टोकियो विश्वविद्यालयमा पीएचडी गर्दैछु भन्थे । उनले आफ्नो करियरको सुरुवात टिचिङ हस्पिटलको नर्सिङ क्याम्पसमा पियनबाट गरेको भन्थे । उनले पनि धेरै विदेशी केटीसँग अफेएर जमेको ध्वाँस दिए । मसँग ‘अनुहार त बरु कागजकै भए हुने’ मेरो काव्यसङ्ग्रह थियो उनलाई पढ्न दिएँ । त्यसमा—

परिश्रम नै गर्ने हो भने स्वदेशमा लाख छ

त्यतिले नपुगेर जो विदेश लाग्छ

र आफ्नी स्वास्नीलाई स्वदेशमै राख्छ

त्यस्ताको स्वास्नीलाई छिमेकीले चाख्छ !

भन्ने ‘विदेश हान्ने दाजुभाइ सावधान’ शीर्षकको कविता थियो । यो मैले चिनेजानेका युवा साथीहरुलाई भन्दै आएको हुँ । बिहा गरेर विदेश नजाऊ । विदेश जाने बाध्यता छ भने बिहा नगरी जाऊ । ऊ भोलिपल्ट मेरो रुममा आयो र भन्यो— ‘धत् यो कस्तो कविता लेखेको ?’ मैले बुझेँ- उनकी श्रीमती ३ वर्षदेखि नेपालमा थिइन् । उनी जापान आइसक्नेवाला थिइन् छोरीसहित । मैले भनेँ, ‘ ….जी ! जाइकाले तपाईंलाई स्टाइपेन्ड दिएकै छ । भाउजू आएपछि उहाँले काम गर्नुभो भने त तपाईं मालामाल भैहाल्नु हुन्छ !’ उत्तरमा म उनकै शव्द सापट लिएर भन्छु,— ‘हैट ! कहाँ स्वास्नीलाई काममा लगाउने कुरा गर्नु भा’को ? यहाँ एकछिन् आइमाईलाई एक्लै छोड्नु हुन्न । अरूले हान्दिहाल्छन्…..!’

हामी सबैलाई एउटा रूममा अठाह्रदेखि बीस जना बस्ने गरी पाँच समूहमा विभाजित गरियो विषय अनुसार । मेरो समूहमा मै मात्र नेपाली रहेँ । एक जना जोर्डनकी ३० उत्तरार्धतिरकी महिला थिइन् । उनी कहिले मसँगै बस्थिन्, कहिले म उनीसँगै बस्थेँ । उनी कहिलेकाही केही सोध्नुपर्दा मलाई ‘लावा’ भन्थिन् । म ‘चाहना’ नेपालीको सिनेमाको दोस्रो युनिटको क्यामेराम्यानले दृश्य सुट गर्नुअघि मैले लाइट, साउन्ड, क्यामराभन्दा जस्तो ‘यस अर्डर मी’ भन्थेँ । उनी मरिमरि हाँस्थिन् ।

जापान गर्मी नै थियो । उनी पातलो सिल्कको पछ्यौरीले टाउको र मुख छोपेकी हुन्थिन् । उनी मुसलमान थिइन् । रूममा लेक्चर चलिरहेकै बेला वा चिया ब्रेकका बेला हामी कापीमा केही न केही लेखेर जुहारी खेलिरहन्थ्यौँ । एक दिन कुरै कुरामा ‘सर्कमसिजन’ (पुरुषको भए लिङ्गको अग्र भाग जस्लाई शिस्न भनिन्छ— त्यस वरिपरिको छाला काट्ने । अमेरिकन युरोलोजिकल एसोसियन यसले गर्दा लिङ्ग सफा राख्न सजिलो हुने दाबी गर्दछ भने महिलाको पनि योनिच्छेदन सन्दर्भमा ‘क्लिोटोरिस’ अर्थात् भगनासा !

कहिलेकाहीँ नारीमणि पनि भनिन्छ— को वरिपरिको छाला र योनिको भित्री बाहिरी छाला (लाबिया) काट्ने), अफ्रिकामा त यसलाई एउटा संस्कारै मानिन्छ । एबीपी न्युज इन्डिया अनुसार यो अफ्रिका, मध्यपूर्व (ऊ मध्यपूर्वकै थिई) दक्षिणपूर्वी एशियामा प्रचलित छ) को कुरा आयो । ‘सर्कमसिजन’ को सुखद र दुःखद मनावैज्ञानिक पक्ष अलग होला, त्यो बेग्लै भो । ऊ र म कापीमा लेख्दालेख्दै दुई तीन पेज नै भरियो । किनभने पुरुष लिङ्ग र स्त्री योनिको फोटै बनाएर हामी अघि बढ्दै थियौँ । उसको हात गोडा असाध्यै सेता थिए लोभै लाग्ने तर अनुहारलाई मक्खिले धोका दिरहेको थियो ढाकेर । त्यसैले प्रायः ऊ अनुहार छोपिरहन्थी ।

फिल्ड ट्रिपको सिलसिलामा हामी पाँच समूहका सहभागीहरू जापानका विभिन्न ठाउँमा भ्रमणमा जाने भयौँ । हाम्रो भागमा दक्षिण-पश्चिम जापानको क्युसु टापुमा रहेको किता-क्युसु जाने कार्यक्रम पर्‍यो । यस्को लागि हामी निप्पन एयरको बोइङ विमानमा नारिताबाट फुकुओका प्रिफेक्चरको किता-क्युसु शहरका लागि उड्यौँ । मलाई त्यति सम्झना भएन । हामी उडेको दुई घन्टापछि क्युसु वा फुकुओका विमानस्थलमा ओर्लियौँ ।

हाम्रो भ्रमणको उद्देश्य त्यहाँको स्टिल/फलाम, धातु कारखाना, समुद्रमाथिका बनेका सडक, पुल र समुद्रमाथि बन्दै गरेको विमानस्थल तथा त्यहाँका सामाजिक जनजीवन, रहनसहन अध्ययन गर्ने थियो । हामीलाई त्यस्ता कारखाना र त्यहाँबाट उत्पादन हुने वस्तुको जानकारी दिइयो । शहरबाट तीन किलोमिटर टाढा समुद्रमाथि बन्दै गरेको ५४४९ फिट रन वे भएको विमानस्थल देखाउन लगियो । हामीले स्टिमरबाट समुद्रको त्यो दूरी पार गर्‍यौँ ।

नीलो पानीलाई स्टिमरले पछाडि सेतो छाल बनाएर अघि दौडिरहँदा त्यो मनमोहक दृश्य अहिले पनि आँखामा झलझली खाइरहन्छ । हावाले शरीका कपडा र कपाललाई पछाडि धकेलिरहन्थ्यो । हामी खुल्ला स्टिमरमा उभिएर यात्रा गरिरहेका थियौ रमाइलोका लागि । जोर्डनी अलिकति गति असन्तुलन हुनेबित्तिकै मलाई समाउँथी । म रोमाञ्चित हुन्थेँ ऊतिर हेरेर । ऊ हावाले धकेलिरहेको सल समातेर मुस्काउँथी । अवलोकनमा जाँदा अनिवार्य रुपमा हेलमेट र रबर बुट दिइन्थ्यो । हामी त्यो लगाएर घुम्थ्यौँ ।

किता-क्युसुबाट फुकुओका (रात्री जीवन र रेडलाइट एरियाको लागि प्रसिद्ध) शहर हुँदै हामी हिरोसिमा लाग्यौँ जापानिज बुलेट ट्रेन (सिन्कानसेन) मा । हाम्रो संयोजक विवाहिता तर राम्री थिई (उनीहरू नेपाली नाम पनि राख्थे आफ्नो तर मैले उसको असली नाम नै बिर्सेँ)— ले ट्रेनको सफर गर्नुअघि टिकट छान्न लगाउँथी । लगातार नम्बर पर्ने दुई जनालाई सँगै राख्ने गरी । मेरो भागमा जापानिज उचाइमा फुच्ची स्वयंसेविका (भोलिन्टियर) पर्थे । संयोजक उनीहरूलाई बस्न नदिई ऊ आफैं मसँग बस्थी । कारण त थाहा भएन तर स्वयंसेविकाहरू अविवाहित थिए । यसरी कतै खुसी कतै उदास हुँदै हामी हिरोसिमा पुग्यौँ । जाइकाले जापानको मुख्य मुख्य शहरहरूमा आफ्नो आर्थिक व्यवस्थापनमै ट्रेनिङ सेन्टर खोलेको थियो । हामी सुत्ने र खाने व्यवस्थाका लागि हिरोसिमा ट्रेनिङ सेन्टर (एचआईसी) रहेछ ।

खाना खाएर म लनमा केही सोच्दै थिएँ । मेरो नजिकै उही जोर्डनी महिला आइपुगी । उसले केही भन्नु अघि नै मैले सोधिहालेँ (किता-क्युसु टुरमा सायद हामी धेरै फ्य्राङ्क भैसकेका रहेछौँ)— ‘भरे म तेरो रुममा आउँछु ल ?’ उसले भनी— ‘यु वान्ट टु सी माई यास्’ (यसलाई नेपालीमा भन्नुपर्दा- ‘तँ मेरो चाक हेर्न चाहन्छस्’ ? भन्ने बुझिन्थ्यो) मैले हाँसेर ‘यस’ भनेँ । ऊ हातले मुख छोप्दै हाँसेर ‘नो’ भनेर हिँडिहाली ।

हिरोसिमामा १९४५ को ६ अगष्टमा अमेरिकन (B-29 bomber, little boy) खस्दा ९० प्रतिशत शहर खर्लप्पै बढार्‍यो र तत्काल असी हजार जनताले ज्यान गुमाए । बमको विकिरणको कारण पछि लाखौंको सङ्ख्या मृत्युको मुखमा परे । हेन्सु टापुको ठूलो भूभाग ओगटेको हिरोसिमा यसरी ध्वस्त भएपछि साहसी र मिहिनेती जनताले पछि यो शहरलाई साँस्कृतिक थलोको रूपमा विकसित गरे ।

हामीले ध्वस्त शहरको प्रतीकको अवशेषको रुपमा राखिएको म्युजियम, मान्छेका अस्थिपञ्जर र त्यहाँको दर्दनाक जनजीवनका भिडियो आदि पनि अवलोकन गर्‍यौँ । सोह्र लाख जनसङ्ख्या भएको यो शहर चेर्नोभिल विस्फोटक जोनमा पर्ने भएकोले यस्को तीस स्क्वायर माइल जमिनमा मानव बस्ती अहिले पनि छैन— इतिहासले लेखेको छ ।

हामी भोलिपल्ट फेरि जापानको आइटी शहर ओकायामा पुग्यौँ । हामी जुन शहरमा पुगे पनि त्यहाँको स्थानीय सरकारका मेयर उपमेयरहरूले ट्रिट र उपहार दिन्थे । यसरी हामी ओशाका हुँदै क्योटो (पुरानो राजधानी) पुग्यौँ । क्योटो नामकरणको जानकारीसहित हामीले त्यहाँका प्रसिद्ध ऐतिहासिक स्थलहरुको अवलोकन गर्‍यौँ ।

क्योटो जापानको साँस्कृतिक राजधानी हो र यो मुख्य पर्यटक गन्तव्य पनि हो । यो होन्साई टापुको कान्साई क्षेत्रमा पर्दछ । जापानी भाषामा क्योटो भनेको पश्चिम र टोकियो (टोक्यो) भनेको पूर्व हो । अर्थात् यी दुवै पश्चिम र पूर्वका राजधानी हुन् । सम्वत ७६८ देखि १८६८ पूर्वाद्धसम्म क्योटो जापानको राजधानी थियो । १८६८ को बोसिन गृहयुद्धमा जब जापानमाथिको नियन्त्रण सैनिक नेताबाट सम्राटमा गयो, त्यतिबेलादेखि राजधानी टोकियोमा सर्‍यो ।

क्योटोलाई बौद्ध मन्दिरका घर मानिन्छ । यहाँ हेर्न लायक धेरै मूर्ति, मन्दिर र धार्मिक स्थलहरू छन् । यहाँको बजारमा मुख्यतया हस्तशिल्प सामग्रीहरु प्रशस्त पाइन्छ तापनि पर्यटक लक्षित सामानहरू पनि किन्न पाइन्छ । जापानिज मोती प्रसिद्ध भएको कारण यहाँ मैले सानो मोतीको डल्लो झुन्डिएको ह्वाइट गोल्डनिर्मित मसिनो सिक्री एक सय पच्चीस अमेरिकन डलरमा किनेँ श्रीमतीका लागि । हाम्रो फिल्ड ट्रिपको चार-पाँच दिन गुज्रेपछि हामी पुनः टोकियोमै फर्कियौँ ।

राजधानी टोकियो महानगर कान्तो क्षेत्रको दक्षिण भागमा त हो तर यस्को बसाइस्थिति देशको झन्डै बीच भागमा छ । पूर्व इडागोवा नदी र चिवा, पश्चिम पहाड र यागानासी, दक्षिण तामागावा नदी र कानागोवा, उत्तर साईतामा (दिशाको ‘र’ पछिको नाम प्रिफेक्चर हो) ले घेरिएको । साइतामा, चिवा र कानागावा प्रिफेक्चर मिलाएर यो ग्रेटर टोकियो बनेको रहेछ । जापानको झन्डै तीस प्रतिशत जनसङ्ख्या यो क्षत्रमा बस्छ ।

टोकियोको दस प्रमुख शहर (बजार) हरूमध्ये म ‘गिन्जा’— जापानको एक मात्र ‘ग्लिट्ज एण्ड ग्लेमोर’ (यस्का लागि अङग्रेजी शब्दकोश प्रयोग गर्नुहोला प्रिय पाठकहरू) जापानभरिका धनाढ्यहरू बस्ने महँगो शहर । विशेष गरी जेम्स्, आइमाईका गरगहना र फेसन-वेयरका निम्ति कहलिएको बजार ।

‘अकिहाबारा’— (अकिवा पनि भनिन्छ) विदेशीहरू इलेक्ट्रोनिक्स सामानको लागि ओइरिने ठाउँ । त्यसैले यस्लाई इलेक्ट्रोनिक पसलहरूको शहर भनिन्छ । जहाँ मैले जाइका भत्ताबाट पाएको पैसाले एउटा सोनी र अर्को रिको मुभी क्यामरा किनेँ । यहाँ विभिन्न बजार विज्ञापन सामानका क्याटलग्स, नमुना सामान लगायत विभिन्न भेराइटीका खानेकुरा निःशुल्क चाख्न पाइन्थ्यो ।

‘शिबुया’— मनोरञ्जन, बजार खरिद तथा फेसनको लागि टोकियोको अग्रणी ठाउँ । म दोस्रो पटक को यात्रामा होटल शिबुयामा बसेको थिएँ । पाँच दिनको छोटो कार्यक्रममा मेरो सालीको छोरो टोकियो वरिपरि कतै काम गर्थ्र्यो- उस्ले होटल रूममै बियर र स्न्याक्स ल्याइदिन्थ्यो । म बजारबाट बेकरी आइटम किनेर फ्रिजमा राख्थेँ । जापान तेतिबेला चिसो चिसो थियो । म शौचालय गएँ । शौचालयको लामो बसाइपछि मलाई कमोड सावरको तातोपानीले चाक धुन मन लाग्यो । कमोड लिडको समानान्तर उचाइको दायाँ छेउतिर जापानिज अक्षर र राता राता थोप्ला मात्र थिए पानी सप्लाई गर्ने सङ्केतको लागि । कुन बटन थिच्ने कुन ? मैले चाक कमोडमै राखेर मनले खाएको एउटा कुनै बटन थिचेँ । ओहो मलाई त कोइला इन्जिनियरले आरनमा झीर तताएर चाकमा पसाएजस्तो भैगो नि । मैले थिचेको बटन अधिकतम तातोपानी फाल्ने बटन परेछ । म त बेपत्ताले आत्तिँदै उठेँ । फेरि पानीको फोर्स यति ठूलो कि मैले कमोडबाट चाक हटाएपछि फोहरामाथि सिलिङसम्म पुग्यो । मैले हत्त न पत्त मेन स्वीच बन्द गरेँ । यो दोस्रो कार्यक्रममा भियतनामकी एउटी राम्री पुड्की किशोरी थिई । नानीभन्दा ….ची ठूलो जस्तो कार्यक्रमको नाम ‘मल्टि-कन्ट्री स्टडी मिसन अन न्यु पब्लिक म्यानेजमेन्ट एन्ड क्वालिटी इम्प्रुभमेन्ट इन लोकल गभर्नमेन्ट’ थियो । पाँच दिनको कार्यक्रममा यति लामो शीर्षक । जे भए पनि मैले भियतनामीलाई सहयोग गरेँ । त्यसैले ऊ म पछिपछि लाग्थी……!

पाँच दिन पुगेपछि हामीलाई बेलुकी कुनै होटलमा लगिएको थियो समापन कार्यक्रमका लागि । त्यो दिन पानी परिरहेकोले पुड्कीको सर्टिफिकेट मेरो ब्यागमा थियो नभिज्नका लागि । होटलबाट निस्कँदा उसले पनि बिर्सी र मैले पनि बिर्सें । मैले बिर्सनु चाहिँ ऊ सर्टिफिकेट लिन मेरो रुममा आउली भन्ने मनसाय थियो । म सुतिरहेको थिएँ । बिहानै ढोकामा नक गरेको आवाजले म बिउँझेँ । भियतनामी पुड्की आएकी होला भनेर यस्सो ढोका खोलेर हेर्छु त ऊ नभै बङ्गलादेशी अग्ली उभिरहेकी थिई । मैले उसलाई भित्र बोलाएँ र म छेउको मेचमा बसेँ । ऊ भित्र पसेर ढोका लगाई । मेरो मुटु ढुक्क भयो । ऊ मसँगैको मेचमा बस्दै …..(मैले नाम बिर्सेँ) भनी ‘म …….को सर्टिफिकेट लिन र तँलाई बाई भन्न आएको ।’

‘मसँग फ्रिजमा हटडग (ब्रेड) मा माछा हालेको बेकरी आइटम छ’, मैले भनेँ । उसले खोलेर आधा आधा पारी । मैले भनेँ— ‘तँलाईं सिङ्गै माछा ख्वाउन मन लागेकोथ्यो । यो त बजारबाट ल्याएको !’ उसले हाँस्दै आधा माछा भएको हटडग टोक्दै भनी— ‘पहिले नै भनेको भए हुन्थ्यो । अब धेरै ढिलो भैसक्यो !’ किनकि हामी त्यही दिन आ-आफ्ना देश फर्किंदै थियौँ ।

पाँच दिनभित्रकै कार्यक्रममा हामीले टोकियोको भव्य इन्सिनरेसन प्लान्ट अर्थात् गार्वेजबाट सङ्कलन गरिएका फोहरहरु जलाएर भष्म पार्ने कारखाना हेरेका थियौँ । हामीलाई दिइएको जानकारी अनुसार जलेपछिको अवशेष खरानीहरू बाटो पिच गर्दा प्रयोग गर्दा पिचको आयु धेरै लामो हुने रहेछ । हामीलाई योकोहामा शहरमा भएका विकसित जापानी प्रविधिहरूको पनि अवलोकन गराइएको थियो । कानागावा प्रिफ्रेक्चरमा रहेको यो जनसङ्ख्याको आधारमा जापानको दोस्रो ठूलो शहर हो र यो घना आवादी भएको मुख्य महानगर पनि हो ।

हामी फिल्ड ट्रिपको लागि टोकियोबाट तीन सय चालीस किमि (झन्डै क्योटो पुग्ने तीन तिहाइ बाटो) पश्चिममा रहेको नागोया शहर पुग्यौँ । होन्सु केन्द्रको प्रशान्तिय तटमा रहेको यो शहर आइची प्र्रिफ्रेक्चर (प्रान्त) को राजधानी हो । जापानको एक प्रमुख बन्दरगाह मानिएको यो शहर सामान उत्पादन तथा ढुवानीको लागि होन्सुको केन्द्रबिन्दु पनि हो । हिकारी, नोजिमो, कोदामा र जेआर टोकाइडो बुलेट ट्रेन मध्ये कुनै एक प्रयोग गर्दा एक घन्टा देखि तीन घन्टासम्म लाग्ने रहेछ । हामी कुन टे्रनबाट गयौँ सम्झना भएन । यहाँ जापनिज लगायत अङ्ग्रेजी, पोर्चुगिज, स्पेनिस, चाइनिज, कोरियन, फिलिपिनो, भियतनामिज र नेपाली भाषा पनि बोलिँदो रहेछ । पाँच सात नेपाली रेष्टुराँहरू पनि सञ्चालनमा आएका छन् ।

मैले रुपोङ्गी शहर पनि घुमेँ । त्यो पनि त्यतिकै महँगो । भाइसँग घुम्न जाँदा स्पोर्टस सु किन्न खोजेको । सकिएन । मेकडोनाल्ड्स पसेर फर्कियौँ । सिन्जुकु— यसलाई टोकियोको ‘माइक्रोकोज्म सिटी’ अर्थात् सानो गाउँ भनिन्छ तर क्रियाकलापहरू भने ठूलो । सिन्जुकु रेल स्टेसन यात्रु सङ्ख्याको हिसाबमा विश्वको पहिलो व्यस्त स्टेसन मानिन्छ । यहाँ दैनिक तीन लाख साठी हजार मानिस आवतजावत गर्छन् । यो टोकियोको व्यापारिक केन्द्र हो । यहाँ प्राय ठूला अफिसहरू, विश्वविद्यालयहरू लगायत पाँच सयभन्दा बढी ‘गोल्डेन गाइ’ अर्थात् रेष्टुराँ र बारहरुको चेन (सञ्जाल) छन् । बजार त्यत्तिकै । खुद्रादेखि मल्टी स्टोरसम्म ।

सिन्जुकुको मुख्य आकर्षण भनेका ‘कावुकिचो’ बजारमा रहेको टोकियोकै प्रसिद्ध ‘रेडलाइट एरिया’ (जहाँ लुटिने सम्भावना पनि हुन्छ) हो । यहाँको रात्री जीवन झन्डै थाइल्याण्डको पतायासँग मिल्दोजुल्दो छ । पतायाको बारेमा म पछि आउँछु । एक साँझ म यहाँ डुल्दै गर्दा छक्काहरूले दपेटे । म भागेर सडक पारी प्रशस्त उज्यालोमा गएँ । यो ठाउँलाई ‘पिस एले’ अर्थात् अँध्यारोमा जहाँ पायो त्यहीँ मुत्ने पनि भनिन्छ । मुत्न चाहिँ मैले पनि मुतेँ है बियरको चापले गर्दा अँध्यारो कुना च्यापेर ।

टोकियो शहर, महानगर वा मेघा शहर जे भने पनि साह्रै साँघुरो छ । एउटै बाटो छ बाहिर निस्कने अलिकति टनेल भएर । इडागोवा नदीको पश्चिम बाटो र बाटोको पश्चिम स्क्राई क्र्यापर बिल्डिङहरू देखिन्थे । यसो त यहाँ अग्ला अग्ला घरहरू छन् नै । अनौठो के थियो भने यस्ता घरहरूको प्रत्येक तल्लाका बरन्डामा भित्री वस्त्रहरू (प्यान्टी) सुकाएका देखिन्थे । पहिले एउटा मिथक के थियो भने अमेरिकन डलर, फ्रेञ्च वाइन र जापानी वाइफ भन्थे । मूल्य र महत्त्वको हिसावमा । अहिलेको जापान त्यस्तो छैन । स्वास्नीले लोग्नेसँग महिना महिनाको आम्दानीको हिसाब मागेर हैरानै बनाउने भएकोले जापानीहरू हप्तान्तमा टन्न पिएर टाइसुटमा ब्रिफकेश बोकेरै रेलवे स्टेसन, डिपार्टमेन्टल स्टोर आदि ठाउँमा टाउको घोप्ट्याएर घुरिरहेका देखिन्थे । जापानिजहरू जतिसुकै अनुशासित, परिश्रम गर्ने, साहसी (उनीहरूको नारा पहिला देश, तेसपछि जनता, अनि परिवार र त्यसपछि जागिर) भए पनि उनीहरू सम्भोगमा यति लिप्त छन् कि भन्ने ठाउँ नै छैन । कतै न्यूजमा पनि आएको छ— नेपालबाट ladybird beetle (खबटे किरा) जस्को सम्भोग कार्य अति लामो हुने भएकोले यो अमेरिकन डलर छ सय सम्ममा अवैधानिक रुपमा जापानमा सप्लाई हुन्थ्यो । अब यसको नाम खबटे हैन खप्टे किरा राख्नु जरूरी छ, खप्टिरहने । जापानमा एकपल्ट यस्तो लहर चल्यो कि त्यहाँका युवाहरू आइमाईका प्यान्टी चोर्न थाले सुँघ्न (इनहेल) का लागि । थप समाचारमा— जापानिज महिलाहरू यौनेन्द्रिय वरिपरिका रौँ काट्दैनन् र योनी झाडीजस्तै देखिन्छ । यो झाडी, प्यान्टी, सुँघ्नुसँग यसको केही यौनिक तालमेल होला । तर यस्को ठीक विपरीत के समाचार आयो भने— दक्षिण कोरियाका गृहिणीहरूले योनीका रौँ सेभ गर्ने तर लोग्नेहरूले मन नपराउन थालेपछि पुनः रौँ पाल्न थालेका छन् । थाइल्याण्ड र सिङ्गापुरमा भने एकपल्ट च्यातिइसकेको झिल्ली अप्रेसनको माध्यमबाट पुनः जोडेर कुमारी देखाउने होडबाजी चलिरहेको छ ।

कार्यक्रम संयोजक अनौठो थिई । मसँग नगीच देखिन/देखाउन नचाहने तर टाढिन पनि नचाहने । उसले एकदिन टाइम दिएर लेक्चर रुममा बोलाई । म गएँ । सबैले ताली बजाए । कोठामा मैनबैत्ती बलिरहेका थिए र ठूलो केक हाँसिरहेको थियो । ‘ओहो ! आज मेरो जन्मदिन हो नि’ मैले बल्ल सम्झिएँ ।

हाम्रो पैँतीस दिने कार्यक्रमको समाप्ती दिउँसै लञ्च र ड्रिङ्क्सका भेराइटीसँगै सकिए । सबै देशका राजदूतावासबाट प्रतिनिधिहरू आएका थिए । हाम्रो दूतावासबाट अनुहारमा बिफरले डामेको एउटा प्रतिनिधि आएको थियो । ऊ असाध्य जान्ने हुनुपर्ने मानौं जापान नै उसले चलाए जस्तो । त्यो सँग मुस्किलले दुई चार बात भए । कारण थियो— कुनै कामको सिलसिलामा यिनीहरूसँग सम्पर्क गर्दा भेट नै दिन नचाहने । नेपाली जनताले पसिना झारेर तिरेको करबाट यिनीहरू सुबिधा लिने तर नेपालीहरुलाई वास्ता नगर्ने । अधिकांश नेपाली कूटनीतिज्ञहरूको मानसिकता यस्तो दरिद्र हुन्छ कि जरूरी काम परेर यिनीहरूलाई फोन गर्‍यो भने पनि हो न हो दूतावासमा सुत्ने कोठा, फोकटको भात र रक्सी खान फोन गरेको होला भन्ने सोचिहाल्ने ।

हामी अब हिँड्ने भयौँ । पोको पन्तरो मिलाउँदै गर्दा मैले दक्षिण अमेरिकी देश भेनेज्वेला हो कि ग्वाटेमालाकी महिला सम्झेँ । त्यतिखेर सत्रौँ औँ फिफा वर्ल्र्डकप फुटबल चल्दै थियो । जापान र दक्षिण कोरिया सह-आयोजक भएर । जापानको फुकुओका, योकोहामा, टोकियो, सुगाया, सपारो, कोबे र साइतामाको रङ्गशालामा भिडन्त हुँदै थियो तर हेर्न जान सकिएन । हामी बस्ने सेन्टरको चौरमा ठूलो स्क्रिन राखिएको थियो । हामी त्यसैमा हेर्थ्र्यौं । मैले दक्षिण अमेरिकी महिलालाई बियर ख्वाउँथे । भेन्डिङ मेसिन त्यहीँ थियो । गयो ल्यायो । मैले सुने अनुसार दक्षिण अमेरिकीहरू अरूको खाइसकेपछि जे पनि गर्न दिन्छन् । तर तेस्तो हुन पाएन । ऊ र म लडखडाउँदै भित्र गयौँ । मैले ‘मेरो रूममा जाने हो’ भनेर सोधेँ । उसले भनी— ‘नाईं’ । हात समातेर तानेको भएको हुन्थ्यो होला तर मेरो छैठौँ ईन्द्रियले तेसो गर्न दिएन ।

हामीलाई एअरपोर्ट छोडियो । दुई-चारजना सहभागी सँगै थियौँ तर सिट नम्बर फरक फरक भएकोले छ घन्टा तीस मिनेट लामो उडानबाट चार हजार छ सय सात किलोमिटर पार गर्नुपर्ने यात्रामा एक्लै धुमधुमती बस्नु र एयर क्रुहरूले दिएको रक्सी बियर चाख्नु बाहेक अरु केही काम भएन । दुईचारजना सहभागीमध्ये जोर्डनी महिला पनि यही फ्लाइटमा थिई भन्नेसम्म मलाई थाहा थियो । थाई एयरवेजको तेत्रो ठूलो एयरबसमा घाँटी तन्काएर आँखा डुलाउने कुरै भएन । अन्ततः जहाज बैङ्ककको सुवणर्भूमि अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा दगुर्न थाल्यो ।

लगेज कलेक्सन गर्दा म र जोर्डनी महिला सँगै पर्‍यौँ । ऊ साह्रै माया लाग्दी देखिन्थी । लगेज तानेर हामी सँगसँगै हिँड्यौँ । हाम्रो कोर्स संयोजक मलाई असाध्य मनपराउँदो रहिछ क्यार ! सालीले म र जोर्डनीको जहाजमा सिट त एउटै पार्दिन्, पार्दिन्, होटल पनि फरक पार्देको रहेछ । मलाई टर्मिनलभित्रकै डे इन होटल र उसलाई टर्मिनल बाहिरको होटल अमारी । जसोजसो बाहुन बाजे उसैउसै स्वाहा भनेजस्तो जोर्डनीले मलाई पच्छ्याइरही । ‘हामी एकछिन मेरो रुममा बसौँ हैँ’— मैले भनें । ‘ओके लावा’— भनेर उस्ले पुरै सल उतारी ।

जब हामी होटल पुग्यौँ त्यहाँको आइमाईको प्रतिक्रिया सुनेर मलाई भाउन्न भैगयो । ‘हामी जापानमा पैँतीस दिन सँगै बसेको । एकछिन मेरो साथी मेरो रुममा रेष्ट गर्न चाहन्छे’— मैले भनेँ । उसले भनी— ‘हुँदैन । पहिला पनि यसरी साथीहरू बस्दा यहाँ ठूलो लफडा परेको थियो ।’ पहिलेको लफडाको मलाई के मतलब ? लगेज डोर्‍याएर हामी इमिग्रेशन पुग्यौँ । जोर्डनीको होटल जान इमिग्रेसन पार गर्नुपर्थ्र्यो । त्यहाँ मैले पाँच सय भाट तिर्नुपर्थ्र्यो । होटल अमारीमा पनि यही सिचुएसन दोहरियो भने के गर्ने ? ऊ अहिले यति लचिलो थिई भने पहिले किन भइन ? मैले पासपोर्टमा लगाइसकेको डिपार्चर छाप क्यान्सिल गर्न लगाएँ । र, गह्रौँ मनले उस्लाई ‘बाई’ भनेँ ।

केही अन्तरालपछि योभन्दा नि खट्किरहने खबर सुन्नमा आयो । त्यो के थियो भने— पैँतीस दिन टोकियोमा हामीले भव्य रमाइलो गरेर बिताएको साथी बोध पौडेलले लन्डनमा सायद श्रीमतीसँगको खटपटले होला, ब्लेडले घाँटी चिरेर आत्महत्या गरेछ ।



प्रतिक्रिया दिनुहोस्