Logo

‘मन नहुँदा नहुँदैपनि ओली र माधव नेपालले पार्टी एकता गर्नुको अर्को विकल्प देखिँदैन्’ : गोकर्ण विष्ट (भिडिओसहित)



काठमाडौं, ९ साउन । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टीको एकता प्रयासले सार्थकता पाउने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विष्टले आफूहरुले पार्टी एकताको लागि गम्भीर पहल गरेको सुनाए । उनले विभाजनले एमालेलाई र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने कुरामा समग्र पार्टी पँक्ति जानकार रहेको पनि सुनाए । यही भएर पार्टी पँक्तिले एकताको लागि नेतृत्वलाई दबाब दिएको पनि उनको भनाई छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले सम्वादको प्रयास भैरहेको पनि उनले जानकारी दिए ।

उनले भने,‘नेपालको राजनीतिमा मात्रै होईन, नेकपा एमालेमा पनि अलिक कहिलेकाहीँ सिमा र मर्यादाभन्दा बाहिर रहेर आफ्नो अभिव्यक्तिहरु र शब्दबाण प्रहार गर्ने खालका संस्कारहरु नेताहरुमा देखा परेका छन् । संयमतता, शालिनता र शिष्टता अरु प्रकारका शब्दभन्दा ज्यादा बलवान हुन्छन् भन्ने कुरा हामीले नेपालको राजनीतिमा स्थापित गर्न सकिरहेका छैनौं । यसलाई मैले नेपाली राजनीतिको परम्पराको रुपमा बुझेको छु । यसलाई अतिरिक्त ढंगले बुझेको छैन् ।’ उनले आम कार्यकर्ताको चाहनालाई पूरा गर्नको लागि अध्यक्ष ओली र वरिष्ठ नेताबीच सहमति हुने दाबी गरे । उनले ओली र माधव नेपालबीच मन नमिल्दा नमिल्दै पनि पार्टी एकता गर्नुको अर्को विकल्प नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्