Logo

चेलीहरु आफ्नैबाट असुरक्षित



काठमाडौं, ९ साउन । महोत्तरीको भमरापुरबाट वेपत्ता पारिएकी सुजिता ठाकुरको शव सेफ्टी ट्याकीमुनी गाडेको अवस्थामा फेला परेको थियो । २० जेठमा वेपत्ता पारिएकी उनको शव ४८ दिनपछि २७ असारमा पत्ता लागेको थियो । उनको हत्यामा देवर रुपेश ठाकुर संलग्न रहेको खुलेको थियो ।

रुपेशले कुटपिट गर्ने गरेको र घटनाको दिन टाउको ठोक्याएर हत्या गरी शव व्यवस्थापन गरेका थिए । सुजिताका पति मानसिक रुपमा केही कमजोर थिए । उनको परिवारमा ससुरा र देवर नै हालीमुहाली भएको र घरेलु हिंसा गर्ने गरेको खुलेको थियो ।

गत वर्षको २१ माघमा बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । उनको हत्याका अभियुक्त खोज्न प्रहरीले निकै कसरत गर्नुपरेको थियो । प्रहरीले सुरुमा टाढाका व्यक्तिहरुमाथि निगरानी र सोधपुछ गर्यो । तर, अन्तमा उनकै भाई नाता पर्ने युवक हत्यामा संलग्न रहेको पत्ता लाग्यो ।

प्रहरीले हत्याका अभियुक्त दिनेश भट्टलाई पक्राउ गरी कारबाही बढायो । किशोरावस्थाका दिनेश भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी थिए । भागरथी १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा अध्ययन गर्दै आएका थिए ।

दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका थिए । दिनेश भागरथीका १३ दिने भाई भएको समेत खुलेको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।

यसैगरी, चितवनमा हराएकी २२ वर्षीया युवती सुजिता भणडारी ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुरुमा उनको अपहरणपछि हत्या भएको भन्दै स्थानीयले दोषी पत्ता लगाउन माग गर्दै सडक समेत अवरुद्ध गरेका थिए । तर, अनुसन्धानका क्रममा सुजिता भण्डारीका हाँडनाता सम्बन्ध खुल्यो । उनको ठूलोबुवाका छोरा सचिन भनिने सुकदेव भण्डारीसँग हाँडनाता सम्बन्ध खुलेको हो । यही सम्बन्धका कारण उनले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

उस्तै उमेरका सुजिता र सुकदेव लिभिङ टुकेदरमा पनि काठमाडौं बसेको पत्ता लागेको हो । उनीहरुबीच लामो सम्बन्ध रहेको र सुजिताले सुकदेवलाई विवाहका लागि दबाब दिएको प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

९ असारमा दुवैबीच टेलिफोन कुराकानी भएको र सुजिताले विवाह नगरे मछु भनेको र सुकदेवले जेसुकै गरे हुन्छ भनेका थिए । सुजिताले अनेकन धम्की दिंदा पनि सुकदेव विवाह गर्न राजी नभएपछि आत्महत्याको निर्णयमा पुगेकी थिइन् ।

सुकदेव झापा शरणमती गाउँपालिकाका हुन् । सुकदेवका बाबु र सुजिताका बाबु नुवाकोटबाट झरेका थिए । सुकदेवका बुवा झापा बसाईं सरेका थिए भने सुजिताका बाबु चितवनमा बसाईं सरेका थिए ।

११ असारमा घरबाट हराएकी भण्डारी २० असारमा सामुदायिक वनमा मृत भेटिएकी थिइन् । राप्ती नगरपालिकाकी २३ वर्षीय सुजिताको परिवारले सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा समेत दर्ता गरेको छ ।

विभिन्न कोणबाट अनुसन्धान गर्दै शंकास्पद एक सयभन्दा बढीसँग सोधपुछ समेत गरेको थियो । तर, सुजिताले आत्महत्या गरेको प्रमाणहरु बलियो देखिएको थियो । उनको शव भेटिएको स्थान नजिकै बोतलमा सेतो पद्धार्थ समेत भेटिएको थियो ।

पछिल्लो समय चेलीहरु टाढाकाभन्दा आफ्नैबाट असुरक्षित भएको देखिन्छ । नजिकको नातेदार तथा आफन्तबाट बलात्कृत हुने र मारिने सम्मको घटना देखिन थालेको छ । कतिपय अवस्थामा बलात्कारका कारण आत्महत्याको घटना पनि भएका छन् । चेलीहरु आफ्नैबाट असुरक्षित हुन थालेपछि महिला हिंसा नियन्त्रणको कदम सजिलो छैन भन्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्