Logo

२० मन्त्रीका लागि १५६ सांसद दौडमा, शिर्ष नेतालाई चुनौती



काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन मुश्किल पर्ने संकेत गरेका छन् । उनले गठबन्धन भत्काउने कोशिश हुन थालेको मात्र भनेनन् आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएर व्यवस्थान कठिन भएको खुलासा गरेका छन् ।

प्रचण्डले ४९ जना सांसदमध्ये सबैजसो मन्त्रीका आकांक्षी भएको खुलाए । माओवादीबाट अहिले सरकारमा २ जना मन्त्री छन् । उसले थप ३ देखि ४ मन्त्रालय पाउने सम्भावना छ । त्यसका लागि निकै चर्को प्रतिष्पर्धा छ । प्रचण्डनिवास खुमलटारमा मन्त्री बनाइदिन भन्दै धाउनेहरु बढेका छन् ।

देउवाले विश्वासको मतको पक्षमा १६५ मत प्राप्त गरेका थिए । त्यसमध्ये उनी आफै, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि छन् । प्रचण्ड, माधव नेपाल, महन्थ ठाकुर र डा. बाबुराम भट्टराई मन्त्रीको दौडमा छैनन् । राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । दुर्गा पौडेलले देउवाको पक्षमा मतदान गरेकी थिइन् । देउवासहित ५ सांसद सरकारमा गइसकेका छन् । यसरी हेर्दा कम्तिमा १५६ प्रतिनिधि सभाका सांसद मन्त्रीको दौडमा छन् ।

माओवादीमा मात्र नभई सत्तारुढ नेपाली काँग्रेसमा पनि चर्को प्रतिष्पर्धा छ । ६१ सांसद रहेको काँग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवाका अलावा २ मन्त्री छन् । गृहमा बालकृष्ण खाँड र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की छन् । सत्ता गठबन्धन दलहरुले कम्तिमा १५ देखि १८ मन्त्रालय मागेकाले देउवालाई आफ्नो पार्टीभित्र व्यवस्थापन सजिलो छैन ।

काँग्रेसले अधिकतम ७ जनासम्म मन्त्री थप्न सक्छ । त्यसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पक्षधरलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । देउवानिकटस्थहरु पनि मन्त्रीका आकांक्षी छन् ।

महाधिवेशनको मुखमा निकटस्थलाई चिढ्याएमा देउवालाई समस्या पर्न सक्छ । अर्कोतर्फ, उनले मन्त्री पदबाटै आफ्नो विरोधी समूहबाट केही नेता तान्ने रणनीति बनाउन सक्छन् । यसका लागि पनि उनलाई व्यवस्थापनको चुनौती छ ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव समूह दुवै सरकारमा जान चाहेका छन् । यादव गठबन्धनमा नै छन् । ठाकुरले पनि देउवालाई विश्वासको मत दिएका छन् । यी दुई समूहले गरी कम्तिमा ५ मन्त्रालय माग्न सक्छन् । जसपाको डा. बाबुराम भट्टराई पक्षधरको पनि मन्त्री दाबी हुन सक्छ ।

मन्त्रीकै लागि जसपाको ठाकुर समूहभित्र मात्र नभई यादव समूहभित्र पनि विवाद आउने सम्भावना छ । मन्त्री नपाएकाहरुले गुट परिवर्तन गर्न सक्छन् । ३२ सांसद रहेको जसपाभित्र ठूलै विवादको सम्भावना बढेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि सरकारमा जाने सम्भावना छ । उक्त समूहमा मन्त्री बन्नकै लागि गुट परिवर्तन गर्नेहरु छन् । बामदेव गौतम, प्रेम आले, किसान श्रेष्ठलगायत मन्त्रीका आकांक्षी छन् । गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जान खोजिरहेका छन् ।

एमालेभित्रको विवादमा आफ्नो समूहमा बढीभन्दा बढी सांसद तान्न पनि नेपाललाई बढी मन्त्रालय चाहिएको छ । उनले कम्तिमा ८ मन्त्री मागेको बुझिएको छ । त्यो संख्यामा मन्त्रालय पाएपनि गुट व्यवस्थापन गर्न नेपाललाई कठिन छ । मन्त्री बन्नकै लागि नेपाल समूहमा विवाद हुने अवस्था बनेको छ ।

संविधान अनुसार प्रधानमन्त्रीसहित २५ मन्त्री रहने व्यवस्था छ । सत्ता गठबन्धनका माओवादीले ५ देखि ६, जसपाले ५ देखि ६ र माधवकुमार नेपाल समूहले ७ देखि ८ मन्त्रालय मागेको अवस्थामा काँग्रेस ७ भन्दा कम मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्थामा रहन सक्छ ।

सत्ता गठबन्धनका दलभित्र बढीभन्दा बढी सांसदलाई मन्त्री बनाउन संविधान संशोधन गरी मन्त्रालय बढाउने र फुटाउने सम्मको कदम पनि हुन सक्छ । त्यस्तो संकेतहरु देखिएका छन् । तर, मन्त्रालय बढाएर मात्र व्यवस्थापन सजिलो छैन । आकांक्षीहरु झन् बढ्न सक्छन् । मन्त्री बन्नकै लागि गठबन्धन दलभित्र विवाद बढ्ने देखिन्छ । गठबन्धनका दलहरुभित्र पनि उत्तिकै विवाद बल्झने सम्भावना छ । यसको व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई हम्मे पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्