Logo

मैतीदेवी वकील समूहद्वारा महान्यायाधिवक्ता खातीको सम्मान



काठमाडौं, ९ साउन । मैतीदेवी वकील समूहले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सम्मान गरेको छ । मैतीदेवी र त्यस वरपरका वकीलहरू भेला हुने थलो मैतीदेवी मन्दिर नजिकको खुला क्षेत्रमा एक कार्यक्रमगरी महान्यायाधिवक्ता खातीलाई विशेष सम्मान गरिएको हो ।

महान्यायाधिवक्ता खाती पनि त्यही समूहमा जोडिएका वकील हुन् । सम्मान कार्यक्रममा महान्यायाधिवक्ता खातीले आफूले वकीलहरुको हकहित र क्षमता अभिवृद्धिका लागि लयर्स एकेडेमी बनाउन पहल गरिरहेको बताए । उनले प्रधानमन्त्री कार्यालयमा कानून निर्माणमा सल्लाह सुझाव र सहकार्य गर्नका लागि कानूनका विज्ञ रहनेगरी छुट्टै टिम निर्माण गर्न आग्रह गरेको बताए ।

त्यसले कानूनको मस्यौदा गर्ने सरकारी कर्मचारीलाई सहयोग पुग्ने महान्यायाधिवक्ता खातीको धारणा छ । कानून कार्यान्वयनमा भएका जटिलता , कानून व्यवसायीलाई भएका समस्या हटाउन आफू निरन्तर सक्रिय रहने उनको भनाई छ । सरकारलाई रचनात्मक र प्रभावकारी सल्लाह दिने बताउँदै महान्यायाधिवक्ता खातीले युवाले पनि देश हाँक्न सक्छन् भन्ने प्रभाव छाडेर त्यहाँबाट निस्कने सुनाए ।

सम्मान कार्यक्रममा नेपाल बार एसोशिएसनका पूर्वमहासचिव विजय मिश्रले खाती महान्यायाधिवक्ता हुनु आफूहरूनै भएको जस्तो लागेको बताए । उनले सरकारलाई प्रभावकारी ढंगले सल्लाह दिएर सही बाटोमा हिडाउन महान्यायाधिवक्ता खातीलाई सुझाव दिए । त्यस्तै सर्वोच्च अदालत डिएलएका निवर्तमान अध्यक्ष नरेन्द्र केसी, उच्च अदालत पाटन बारका पूर्व अध्यक्ष मेजर थापा, अधिवक्ता पर्शुप्रसाद घिमिरे, रमेश कोइराला, चन्द्र शाही, सुनिल पाण्डे, दीपक राईलगायतले महान्यायाधिवक्ता खातीको सफल कार्यकालको कामना गर्दै रचनात्मक काम गर्न सुझाव दिए ।

आमा डम्बरकुमारी कार्कीको निधन भएका कारणले मैतीदेवी वकील समूहका अग्रणी व्यक्तित्व अधिवक्ता केदार कार्की भने महान्यायाधिवक्ता खातीको सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन् । मैतीदेवी वकील समूह अनौपचारिक समूह हो । यो कानूनी रूपमा दर्ता भएको समूह नभई सामूहिक र सर्वपक्षीय रूपमा भेटघाट र भेला हुने थलोको रूपमा परिचित छ । यो समूहमा आबद्ध सुनिल पाण्डेका अनुसार मैतीदेवीमा केदार कार्की बार काउन्सिलको पार्षद, मेजर थापा उच्च अदालत पाटन बारको अध्यक्ष हुँदा पनि यसरी नै सम्मान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्