Logo

माधव नेपाल समूह सरकारमा सहभागी हुनेबारे मलाई जानकारी छैन : रमेश लेखक (भिडिओसहित)



प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन् । महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी थालिसकिएको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाल समूहलाई सरकारमा ल्याउने विषयमा शीर्ष नेताहरुको तहमा छलफल भएपनि सरकारमा उक्त समूह आईहाल्छ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको पनि स्पष्ट पारे । प्रस्तुत छ नेता लेखकसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब नेपाली काँग्रेसको महाअधिवेसन सर्ने भयो, होईन ?

होईन, सर्दैन । महाअधिवेसन समयमा नै हुन्छ । अब यो स्थानीय तहको कार्यतालिका सर्छ कि थोरै प्रभावित हुन्छ कि भन्ने हो ।

तर, तयारी हेर्दा अब समयमै महाधिवेशन हुनेमा शंका देखियो नि ?

महाअधिवेसन त समयमा नै गर्नुपर्छ । भनेकै समयमा हुन्छ । थोरै स्थानीय तहको अधिवेसन जति गतेबाट गर्ने भनेको थियो, त्यो थोरै पर सर्छ भन्ने लाग्छ ।

तपाईँहरुले क्रियासिल सदस्यताको समस्या अझै पनि समाधान गर्न सक्नुभएन, जताततै विवाद छ त ?

होईन, जताततै विवाद होईन कतै कतै मात्रै हो । केही काम सकाईसकेका छौँ । अरु पनि सकाउँदै छौँ । केही बाँकी छ । केही ठाउँमा विवाद छ । अब त्यसको तपाईँलाई थाहा छ । केही ठाउँमा अनशन तथा धर्नाहरु भईराखेका छन । केही ठाउमा विवादहरु प्नि छन, ती विवाद त यहाँ हामीले छानविन गर्ने क्रममा भन्दा पनि यसपाली हामीले अलि फरक ढंगले यसको काम प्रारम्भ गरेका छौं । क्रियासिलको नवीकरणको काम, नयाँ नविकरण सदस्यता गर्ने काम सबै जिल्ला, तह र प्रदेशमा सम्पन्न भएका हुन । तीनका माथि परेका उजुरीमा हामीले छानविन गरेर काम गरिराखेको हो । अहिले करिब–करिब काम त सकिसकेको हो । क्रियासिलको यहाँले भन्नुभएको जस्तो केही ठाउँमा विवाद छ । केही समस्या देखिएको छ ।

क्रियासिल सदस्यता समाधान गर्नकोलागि तपाईँलाई जिम्मेवारि दिईएको छ, तपाईँले किन काम गर्न सक्नुभएन ?

मैले भने हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले काम सकिसकेका छौँ ।

काम सकेको भए अहिले किन पार्टी कार्यालय सानेपामा जिल्ला जिल्लाबाट साथीहरु आएर अनसन बस्नुपरेको त ?

क्रियाशिल सदस्यता मा हमेसा विवाद हुनेगर्छ । यहाँभन्दा पहिलेको १३औँ महाअधिवेसनमा पनि यस्तै विवाद भएको थियो । १३औँ महाअधिवेसनमा त झन हामीले त्योबेला ३३ वटा क्षेत्रको नयाँ तर्फको क्रियासिल सदस्यता नै स्थगित् गरेर पुरानैबाट अधिवेसन गरेको अवस्था थियो । ३३ वटा निर्वाचन क्षेत्रमा यसपाली त्यस्तो छैन । यसपाली हामीले कमसेकम अगाडि बढेको अवस्था छ । अव दुई÷तीन वटा क्षेत्रमा बिवाद रह्यो । त्यसमा क्रियासिल सदस्यताको वितरणमा जिल्लास्तरबाटै नै अहिले केन्द्रसम्म आईपुगेको छ । अब त्यो विवादलाई समाधान गर्नकालागि हामीहरुले नेताहरुलाई लिखित रुपमा नै मापदण्ड बनाएर दिएका छौं । नेताहरुलाई यस्तो यस्तो काम गर्ने, यो मितिमा काम हुन सकेन भने नेतृत्व तहमा पठाउने भनेर हामीले लिखित रुपमा नै जुन विवादहरु हाम्रो तहमा समेट्न सकेनौँ, त्यसलाई हामीले नेतृत्व तहमा पठाएपछि नेताहरुले हेरिराख्न्नु भएको छ ।

हिजो पार्टी सभापति शेरबहादुर देउवाले रामशरण महत र प्रकाशशरण महतलाई पार्टी कार्यालयमा पठाएर अनशन तोडाउन भन्नुभएको थियो, तर पनि अनशनमा बसेका नेता तथा कार्यकर्ताहरुले उहाँहरुको आग्रह सुन्नुभएन नि ?

हामीले एउटा मापदण्ड बनाएका छौँ । र, हामी अरु सबै विभाग टुङग्याईसकेका छौँ । थुप्रै विवादहरु हामीले हाम्रो समितिमा टुँग्यायौं । एक÷दुई ठाउँमा हाम्रो बीचमा सहमति हुन सकेन । सहमति नभएकालाई हामीले केन्द्रीय नेतृत्वमा पठाएका छौँ । हाम्रो मापदण्डले र हाम्रो निर्देशिकाले नै त्यही भनेको हुनाले त्यही अनुसार नै हामीले काम गरेका छौँ ।

काँग्रेसमा क्रियासिल लिनकालागि पनि किन यस्तो मारामार हुन्छ भन्नुहोस् त ? किन सँधैं विवाद हुन्छ ?

बास्तवमा यो काँग्रेसका सदस्यता दिनानुदिन वितरण गर्नुपर्ने, निरन्तर संगठन विस्तार गर्नुपर्ने थियो । तर, हाम्रो समस्या कहाँनिर हुन्छ , चुनौती कहाँनिर हुन्छ भने हामी ठिक महाअधिवेसनको मुखमा क्रियासिल वितरणको काम गर्छौं । महाअधिवेसनकै बीचमा सदस्यता कायम गर्ने काम गछौँ । र, ती सदस्यहरुले नै मतदान गर्ने भएको हुनाले ती महाअधिवेसनमा मतदाता पनि हुन्छन । निर्वाचन हुने भएको हुनाले अलिकति यसमा आफ्नो पक्षको मतदाता बढि बनाउने र अर्काको पक्षको मतदाता रोक्ने पार्टीभित्रको प्रतिष्पर्धाले प्रभाव पारेको हुन्छ । त्यो प्रभावका कारणले विवाद हुन्छ ।

काँग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीभित्र म सदस्यता लिन्छ र काँग्रेस बन्छु भन्दा पनि त यस्तो रडाको मच्चाउनुपर्छ र भन्या ? अनि पार्टीमा कहिलेसम्म गुटगत स्वार्थ हाबी हुन्छ त ?

यहाँले भन्नुभएको ठिक हो । सदस्यता भनेको संगठन विस्तारको रुप हो । अब यसमा विवाद गर्न हुन्थेन । तर, मैले भनिहालें यो निर्वाचनको विषय पनि भएको हुनाले महाअधिवेसनमा हाम्रो प्रतिष्पर्धा हुन्छ । वडादेखि केन्द्रसम्म प्रतिष्पर्धा हुन्छ । त्यसो भएको हुनाले त्यो पार्टीको आन्तरिक प्रतिष्पर्धामा क्रियासिल सदस्य मतदाताका रुपमा रहने भएको हुनाले पनि अलिकति यो विवादको विषय भएर आउने गरेको छ ।

प्रदेश नम्बर २ को प्रत्येक जिल्लामा विवाद आयो नि त ? के कारणले ?

त्यहाँ विवाद भएको ठाउँ भनेको सिराहा र सप्तरी दुईवटा जिल्लामा क्रियासिल संकलन र वितरणको काम नै ढिलो भएको हो । त्यहाँ पर्टीको आन्तरिक समायोजनको काम रह्यो, त्यसकारणले त्यहाँ क्रियासिल सदस्यता वितरणले प्रदेश दुईमा विवाद भयो । प्रदेश नम्बर २ मा विवाद भएका ठाउँहरु भनेको पर्सा र सप्तरी त्यो ठाउँमा विवाद भएको छ । ती दुवै जिल्लामा क्रियासिल सदस्यताको काम नै ढिलो भएको हो । त्यहाँ पार्टीको आन्तरिक समायोजनको समस्या रह्यो । त्यसकारणले त्यहाँ ढिलो क्रियासिल सदस्यता वितरण भयो । त्यसमा हामी पुरानो क्रियासिल सदस्यता स्वीकार गरेर त्यसलाई गराईसकेका छौँ । नयाँ क्रियासिल सदस्यताको बारेमा छानविन गरेर टुँग्याउनुपर्छ । त्यसपछि दुई ठाउँमा धनुषाको चार नम्बर र सर्लाहीको दुई नम्बरमा पनि समस्या छ । त्यो हामीले पार्टीको नेताहरुको तहमा यो समस्या समाधान गर्नका लागि पठाएका छौँ । त्यसो भएको हुनाले दुई ठाउँमा विवाद होईन । दुईवटा जिल्लामा टुङयाउन बाँकी रहेको छ भने दुई वटा निर्वाचन क्षेत्रमा विवाद रह्यो ।

यो विवाद समाधान कति दिनभित्र हुन्छ त ?

हिजो पनि मैले पदाधिकारी र पुर्व पदाधिकारीको बैठकमा लिखित रुपमा यसबारेमा जानकारी गराएको छु । हाम्रो समितिले अरु सबै काम टुँग्याईसकेको छ । जुन ठाउमा हाम्रो समितिमा पनि सहमति हुन सकेको छैन, त्यो विषयमा विवाद पनि नेताहरुले नै टुँग्याउने होलान । नेताहरुले त्यो विषय टुँग्याएपछि हामी त्यो प्रतिवेदन बुझाउन तयार छौँ । हामीले प्रतिवेदन बनाईसकेका छौँ ।

तपाईँहरुले काम सकाउनुभयो, तर पनि प्रतिवेदन अहिलेसम्म पार्टी सभापतिलाई बुझाउन सक्नुभएन नि ?

केही विवाद र केही समस्याहरु नेताहरुकहाँ पु¥याउने कुरा भएको छ । नेताहरुले ती समस्या समाधान गरिरहनु भएको छ । त्यसकालागि हामीहरुले सिफारिश गरिसकेका छौँ ।

शेरबहादुर देउवासंग जनताका धेरै आशा र अपेक्षा थिए, अनि उहाँले राम्रो काम गर्नुहोला भन्ने जनताको भरोसा थियो, तर उहाँले अहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्नसक्नु भएन ? किन र के कारणले ?

पहिलो कुरा त यो नेपाली काँग्रेसको एकल सरकार होईन । यो सरकार अरु राजनीतिक दलहरुले पनि सहयोग गरेको यो संयुक्त सरकार हो । यो गठबन्धनको सरकार हो । एकल सरकारजस्तो हुँदैन । यसभित्र धेरै खालका समस्या हुन्छन । अरु पार्टीहरुसंग पनि सल्लाह गर्नुपर्यो । मन्त्रिपरिषदको कार्यक्षेत्रलाई बाढ्नुपर्ने लगायतका अरु कुराहरु पनि भएको हुनाले र अरु पनि रायसल्लाह भईराखेको छ । त्यसकारण थोरै समय लागेको छ । र, यहाँले भन्नुभएको जस्तो धेरै समय अब लगाउँदैनौं । मन्त्रिपरिषद चाँडै गठन गर्नुपर्छ ।

उसो भए अब दिनभित्र अब मन्त्रिमण्डल विस्तार होला ?

मलाई लाग्छ अब चार/पाँच दिनभित्र होला ।

त्यसोभए जसपाको आधिकारिकता निर्वाचन आयोगले टुँगो लगाउने बित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ भनेर बुझ्दा हुन्छ ?

चार/पाँच दिन लाग्छ होलाजस्तो लाग्छ ।

तपाईँहरुले कार्यदलमा बसेर छलफल गठर्नुभएको छ, सरकारका साझा कार्यक्रमहरु कस्तो हुन्छन् ?

अब मुलभुत रुपले गठबन्धन लागिरहेको छ । सरकार बनेको छ । विभिन्न राजनीतिक दहरुको चाहना पनि अगाडि बढ्ने भएको हुनाले त्यो विषयलाई थोरै सहयोग मिलोस भन्ने उद्देश्य हो । राजनीतिक दलहरुका बीचमा केही विषयहरुमा विभिन्न छलफल गर्ने अनौपचारिक थलो हो यो गठबन्धन । त्यो कुनै औपचारिक थलो होईन ।

यो कार्यदलको मुख्य कामहरु के–के हुन, सरकारको लागि काम गर्ने कि सरकार नियन्त्रण गर्नको लागि काम गर्ने ?

यो कार्यदलको काम भनेको सरकारलाई सुदृढ गर्नको लागि काम गर्ने हो ।

तपाईँहरुले हिजो पनि कार्यदलमा बसेर छलफल गर्नुभयो, के–के निश्कर्ष निकाल्नुभयो त ?

यो गठबन्धनसंग साझा एजेन्डाहरु के हुनसक्छन, आगामी दिनहरु के हुनसक्छन । आगामी चूनौतिहरुलाई सक्छन् कसरी सम्भावना के हुन्छन् ? के स्थतिथि बन्छ भन्ने कुरामा नै छलफल भएको हो ।

माधवकुमार नेपाललाई तपाईहरु सरकारमा लैजाँदै हुन्नुुहुन्छ हो ?

त्यो त अहिले भन्न सकिने कुरा होईन ।

किन भन्न सकिदैन ? छलफल त भईरहेको छ नि त ?

नेताहरुको विचमा त्यो छलफल र परामर्श भईरहन्छ, त्यो स्वभाविक कुरा हो ।

होईन, सरकारमा माधव नेपाल समूहलाई पनि सहभागी गराउने कुरामा शीर्ष नेताहरु दिनहुँ छलफलमा व्यस्त छन्, तर उनीहरुले निश्कर्ष निकाल्न त सकेका छैनन् नि ?

कुनै निश्कर्षमा पुगेको जस्तो मलाई लाग्दैन् ।

माधव नेपाललाई सरकारमा लिएर जाने विषयमा के के भईरहेको छ ?

माधव नेपाललाई सरकारमा लिएर जाने विर्षयमा मलाई जानकारी छैन । त्यो ठाउँमा पनि म पुगेको छैन ।

तपाई प्रधानमन्त्रीको सबैभन्दा निकटको नेता हो नि त ?

यहाँले भन्नुभएको कुरो मलाई जानकारी भएन । त्यो छलफलमा म छैन । आफु छलफलमा नै नभएको कुरामा अनुमानमा त भन्न सकिन्न ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्