Logo

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र



काठमाडौं, साउन १० । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् ।

विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् ।

अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् ।

यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन । त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।

साउदी अरबले अहिले आफ्नो मुलुकमा आउने सबैलाई जोन्सनलगायत खोप अनिवार्य गरेको छ । तर, सहज रूपमा खोप पाउन नसकेपछि गहतराज अझै काममा जान पाएका छैनन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप नपाएर अलपत्र परेका वैदेशिक रोजगारमा जाने कामदारको भीड बाक्लो हुने गर्छ । उनीहरूले बारम्बार खोपको व्यवस्था गर्न माग गर्दै आएका छन् । तर, सम्बद्ध निकाय भने यस विषयमा अझै उचित निर्णय गर्न सकेको छैन ।

त्यहाँ बस्ने प्रहरी तथा सुरक्षाकर्मीले समाचार हेरेर सोहीअनुसार खोप लगाउन आउनु भन्दै फर्काउने गरेको त्यहाँ उपस्थित कामदारहरूको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्