Logo

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी



काठमाडौं, साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।

हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार अब नियमावलीले १० करोडदेखि १ अर्बसम्मको चुक्ता पूँजी तोक्ने र पूँजी र अन्य मापदण्ड पूरा गर्ने सबैलाई लाइसेन्स दिइनेछ । यो समितिको प्रस्तावित चुक्ता पूँजी भएकाले अर्थ मन्त्रालयबाट पनि केही संशोधन हुनसक्ने उनको भनाइ छ । अहिलेको बजारमा यति चुक्ता पूँजी जरुरी भएको उनको तर्क छ ।

‘ब्रोकर लाइसेन्सको अनुमति बैंकको सहायक कम्पनी र अन्य ब्रोकरलाई पनि दिने गरी नियमावली बन्न लागेको हो,’ उनले भने । यो व्यवस्था आएपछि यसअघिको बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विवाद पनि टुंगिने भएको छ । ‘हाल भएका ब्रोकर कम्पनीहरूको पूँजी पनि कम छ ।

प्रविधिमा पनि चाहेजस्तो लगानी गर्न सकेका छैनन् । यसैले ठूलो पूँजी भएको र प्रविधिमा लगानी गर्न सक्ने क्षमता भएको ब्रोकर कम्पनी खोल्न जरुरी भएकाले चुक्ता पूँजीको सीमा बढाइएको हो,’ उनले स्पष्ट पारे । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरूको चुक्ता पूँजी रू। २ करोड रहेको छ ।

बोर्डले नियमावली संशोधनका लागि ५ सदस्यीय समिति बनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्