Logo

तामाकोसीको तेस्रो युनिट पनि सञ्चालन



काठमाडौं, साउन १०। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिए।

यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने योजना बनाइएको छ । साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ ।

विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उनले बताए ।

श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ । पहिलो चार युनिटबाट यसै महिना ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्