Logo

निर्मला हत्याका तीन वर्ष: कहाँ छन शक्तिशाली अपराधी?



कञ्चनपुर, साउन १० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको यो हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।

१० साउनको साँझबाट हराएकी उनी भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन् । उनी चढेको साइकल उखुबारी नजिकैको सडक छेउ फ्याँकिएको थियो ।

उनलाई १० साउनको राति बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेपनि वास्तविक हत्यारा अझै पत्ता लाग्न सकेको छैन । शंकाको सुई शक्तिशाली व्यक्ति देखि समान्य व्यक्तिसम्म घुमेको थियो । तर, प्रहरीले वास्तविक दोषी पत्ता लगाउन नसक्दा आलोचित भएको छ ।

घटनास्थल सुरक्षित गर्न नसकेको र प्रमाण जोगाउन नसकेको भनी प्रहरीका उच्च अधिकारीहरु नै कारबाहीमा परे । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्ली बिष्ट देखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु नै निलम्बनमा परे ।

घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पायो । जति हल्ला भयो उति दोषी पत्ता लगाउन प्रहरी असफल रह्यो । प्रहरीले शंकाको भरमा पक्राउ परेकाहरुलाई जर्बजस्ती फसाउन खोजिको आरोप समेत लाग्यो ।

दाजुको हत्यामा जेल परेका दिलिप सिंह बिष्ट पक्राउ परे । उनले बयानका क्रममा हत्या स्वीकार गरेका थिए । तर, बिष्ट बारे यथेष्ठ प्रमाण नभेटिएपछि फसाउन खोजएको खबर फैलियो । बिष्ट छुटे ।

नेपाल प्रहरीको इतिहासमा निर्मला पन्त निकै जटिल अनुसन्धानको विषय बनेको छ । शंकास्पदमाथि निगरानी र बेला बेलामा पक्राउ गर्दै बयान लिने गरेबाट प्रहरी झन् आलोचित भयो ।

निर्मला साथीको घरमा गएकी थिइन् । बबिता बम र रोशनी बमलाई समेत पक्राउ गरी अनुसन्धान गरियो । रोशनी निर्मलकी साथी थिइन् । बम दिदीबहिनीको घरमा पुगेर फर्कंदा घटना घटेकाले शंका साथी र उनकी दिदीमाथि पनि गरियो । तर, प्रहरीले यथेष्ठ प्रमाण जुटाउन सकेन ।

सरकारको विभिन्न तहबाट छानविन समिति गठन भयो । तर, निर्मलाका हत्यारा अझै पत्ता लागेन । तीन वर्ष बित्दा पनि दोषी खुलेआम हिंडिरहेको छ । तर, पहिचान गरी कारबाही गर्न सकेन ।

निर्मलाको हत्यारा पत्ता लगाउन सबैभन्दा बढी प्रहरीका अनुसन्धान टोली सुदूरपश्चिममा सक्रिय भए। एकपछि अर्को गर्दै तीन वर्षसम्म निरन्तर प्रहरीका अनुसन्धान टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्।

ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो । जति जति दोषी पत्ता लाग्न समय लाग्छ उति उति निर्मला पन्तले न्याय नपाए बराबर हुन्छ ।



प्रतिक्रिया दिनुहोस्