Logo

निर्मला पन्त हत्याको ३ वर्ष, चेलीहरु घरभित्र र बाहिर झन् असुरक्षित



काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ ।

किशोरावस्थाकी निर्मला पन्त साथीको घरमा पुगेको र त्यसपछि उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् । उनको साइकल पनि भेटिएको थियो । हत्याका आशंकितहरु पक्राउ परेपनि पछि प्रमाण नपुगेको भन्दै छाडिए ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीमाथि निकै दबाब पर्दै आएको छ । तर, पटक पटकको प्रयास सफल हुन सकेन ।

निर्मलाको हत्यापछि पनि महिलाहरुको बलात्कारपछि हत्याका घटना घटेका छैनन् । महिलामाथि हिंसाका घटना पनि उत्तिकै बढेका छन् ।

२१ माघ २०७७ मा बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । उनको हत्याका अभियुक्त खोज्न प्रहरीले निकै कसरत गर्नुपरेको थियो । प्रहरीले सुरुमा टाढाका व्यक्तिहरुमाथि निगरानी र सोधपुछ गर्यो । तर, अन्तमा उनकै भाई नाता पर्ने युवक हत्यामा संलग्न रहेको पत्ता लाग्यो ।

प्रहरीले हत्याका अभियुक्त दिनेश भट्टलाई पक्राउ गरी कारबाही बढायो । किशोरावस्थाका दिनेश भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी थिए । भागरथी १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा अध्ययन गर्दै आएका थिए ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।

यसैगरी, चितवनमा हराएकी २२ वर्षीया युवती सुजिता भण्डारी ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुरुमा उनको अपहरणपछि हत्या भएको भन्दै स्थानीयले दोषी पत्ता लगाउन माग गर्दै सडक समेत अवरुद्ध गरेका थिए । तर, अनुसन्धानका क्रममा सुजिता भण्डारीका हाँडनाता सम्बन्ध खुल्यो । उनको ठूलोबुवाका छोरा सचिन भनिने सुकदेव भण्डारीसँग हाँडनाता सम्बन्ध खुलेको हो । यही सम्बन्धका कारण उनले आत्महत्या गरेको निष्कर्षमा प्रहरी अनुसन्धानमा खटिएको टोली पुगेको छ ।

९ असारमा दुवैबीच टेलिफोन कुराकानी भएको र सुजिताले विवाह नगरे मछु भनेको र सुकदेवले जेसुकै गरे हुन्छ भनेका थिए । सुजिताले अनेकन धम्की दिंदा पनि सुकदेव विवाह गर्न राजी नभएपछि आत्महत्याको निर्णयमा पुगेकी थिइन् ।

महोत्तरीको भमरापुरबाट वेपत्ता पारिएकी सुजिता ठाकुरको शव सेफ्टी ट्याकीमुनी गाडेको अवस्थामा फेला परेको थियो । २० जेठमा वेपत्ता पारिएकी उनको शव ४८ दिनपछि २७ असारमा पत्ता लागेको थियो । उनको हत्यामा देवर रुपेश ठाकुर संलग्न रहेको खुलेको थियो ।

रुपेशले कुटपिट गर्ने गरेको र घटनाको दिन टाउको ठोक्याएर हत्या गरी शव व्यवस्थापन गरेका थिए । सुजिताका पति मानसिक रुपमा केही कमजोर थिए । उनको परिवारमा ससुरा र देवर नै हालीमुहाली भएको र घरेलु हिंसा गर्ने गरेको खुलेको थियो ।

महिलाहरु घरभित्र र बाहिर असुरक्षित हुने क्रम बढेको छ । बलात्कारपछि हत्या देखि घरेलु हिंसाबाट हत्याका घटना बढ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्