Logo

माधव नेपाललाई हरियो सर्पको संज्ञा दिदै ओलीले भनेः अन्तर्राष्ट्रिय शक्तिको हात छ



काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । उनले देशमा उत्पन्न परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको समेत टिप्पणी गरेका छन् ।

अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री हुनुमा विदेशीको पनि हात रहेको टिप्पणी गरेका हुन् । संविधानको अपव्याख्या गरी परमादेशबाट प्रधानमन्त्री बनेर देशलाई दुरगामी असर पार्ने काम गरेको भन्दै यसमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताए ।

ओलीले माधव नेपाल एमाले पनि नछाड्ने र एमालेभित्रै षड्यन्त्रमा लागिरहने गतिविधिमा संलग्न रहेको आरोप लगाए । उनले माधव नेपाललाई हरियो सर्पं भन्दै हरियो घाँसमा लुकेर षड्यन्त्र गरिरहेको आरोप लगाए ।

माधव नेपाललाई माफी या कारबाही जे गर्ने हो पार्टीले फैसला गर्ने बताए । पार्टीको निर्णयबमोजिम आफू पनि चल्नुपर्ने भन्दै आफैले कारबाही वा माफी दिन नसक्ने स्पष्ट पारे ।

नेकपा माओवादी केन्द्र अरुबाट प्रभावित भइरहेको आरोप लगाएका छन् । उनले नाम उल्लेख नगरी माओवादीको टुप्पी अर्कैको हातमा रहेको टिप्पणी गरेका हुन् ।

‘माओवादीको टुप्पी अर्कैको हातमा छ ,’ ओलीले भने । उनले माओवादी एमालेविरुद्ध षड्यन्त्रमा लागेको आरोप समेत लगाए । तर, एमालेभित्रै केही नेताहरु माओवादीसँग मिलेर षड्यन्त्रमा लागेको उनको आरोप थियो ।

माओवादी एमाले फुटाउने षड्यन्त्रमा लागेको संकेत गर्दै एमाले भन्नेहरु नै अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउनतर्फ लागेर गम्भीर षड्यन्त्रमा संलग्न भएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्