Logo

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे



– टेकराज पोखरेल नवलपुर, १० साउन: नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६-७७ को तुलनामा गत आर्थिक वर्ष २०७७-७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा ९० हजार २२६ ले कमी आएको छ । निकुञ्जमा गत आवमा ९२ हजार २०९ पर्यटक मात्रै घुम्नका लागि आएका अधिकारीले बताउनुभयो ।

त्यस्तै अघिल्लो आव २०७६-७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका अधिकारीको भनाइ छ । गत आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेको अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने बाह्य पर्यटकको सङ्ख्या ज्यादै नै न्यून भएको अधिकारीले बताउनुभयो ।

गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका पर्यटक र एक हजार २४४ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेको अधिकारीले जानकारी दिनुभयो । गत आवमा कोरोना सङ्क्रमण त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको अधिकारीले बताउनुभयो ।

“निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा लगभग बराबर जस्तै छ”, अधिकारीले भन्नुभयो, “तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बाह्य पर्यटकको सङ्ख्या नगन्य मात्रामा आएको देखिन्छ ।” निकुञ्जमा अघिल्लो आव २०७६-७७ मा ८९ हजार ४४१ आन्तरिक पर्यटक आउँदा सार्क मुलुकबाट १४ हजार २३९ तथा विदेशी मुलुकबाट ७८ हजार ७५५ पर्यटक आएका अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो आवमा निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ६५३ महिला तथा ५१ हजार ७८८ पुरुष थिए । त्यस्तै सार्क मुलुकबाट छ हजार ६७ महिला र आठ हजार १७२ पुरुष तथा विदेशी मुलुकबाट ३३ हजार ६९४ महिला र ४५ हजार ६१ पुरुषले निकुञ्जको भ्रमण गरेको अधिकारीले बताउनुभयो ।

गत आव २०७७-७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष छन् । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका अधिकारीले जानकारी दिनुभयो ।-रासस



प्रतिक्रिया दिनुहोस्