Logo

ठाकुर पथमा यादवः गुट परिवर्तन रोक्न रिसोर्टमा राखिए कार्यकारिणी सदस्यहरु



काठमाडौं, १० साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षधर ३२ कार्यकारिणी समितिका सदस्य यतिबेला गोदावरीस्थित रिसोर्टमा छन् । निर्वाचन आयोगले सोमबार जसपाको हेड काउन्ट गरेर आधिकारिकतबारे टुंगो लगाउने मिति तय गरेपछि आजै रिसोर्टमा लगिएको हो ।

जसपाको कार्यकारिणी समितिको बैठक हिजो नै तय भएको थियो । तर, रिसोर्टमा बैठक राखिनुलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरले पनि सांसदहरु आफ्नो पक्षमा सुरक्षित राखेर तत्कालीन विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिन डोलेश्वर रिसोर्टमा आफू पक्षधरलाई लगेका थिए । मध्यरातिसम्म रिसोर्टमा राखेर उनले गठबन्धनको रणनीतिलाई विफल पारेका थिए ।

यतिबेला जसपा विवादको टुंगो लाग्दै गर्दा यादवले पनि ठाकुरकै शैली अपनाएका छन् । बहुमत कार्यकारिणी समितिका सदस्यहरुलाई रिसोर्टमा राखेर आफ्ना पक्षलाई गुट परिवर्तनबाट रोक्न खोजेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षमा ३१ थिए । राजकिशोर यादवले गुट परिवर्तन गरी महन्थ ठाकुरलाई छाडेपछि ३२ पुगेको छ । जसपाको विवादमा १ या २ कार्यकारिणी सदस्य मात्र यताउता हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्