Logo

काँग्रेस सभापतिमा देउवालाई जिताउन प्रचण्ड, नेपाल र यादवको साथ



काठमाडौं, १० साउन । नेपाली काँग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नेतृत्वमा कायम रहन तयारीमा छन् । भदौंमा तोकिएको १४औं महाधिवेशनका लागि देउवाले आन्तरिक तयारी तिव्र पारेका छन् । उनले पार्टीभित्र प्रभावशाली नेताहरुलाई पक्षमा पार्न कसरत गरिरहेका छन् ।

देउवा प्रधानमन्त्री रहेकाले प्रभावशाली नेताहरु र उनीहरुले चाहेका सांसदलाई मन्त्री बनाएर पक्षमा पार्ने रणनीति समेत देखिएको छ । उनले महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह जस्ता नेताहरुलाई सरकारमा ल्याएर पक्षमा पार्न खोजेको बुझिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनाएर पनि पल्लाभारी बनाउन खोजेका छन् ।

देउवाले आन्तरिक तयारी गरिरहेपनि उनलाई गठबन्धनभित्रका दलबाट सहज अवस्था बनाइदिनुपर्ने हुन्छ । गठबन्धनको नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीले बढीभन्दा बढी मन्त्रालयको माग गरिरहेका छन् । देउवाले उनीहरुलाई कम मन्त्रालयमा चित्त बुझाउन लगाएर पार्टीभित्रको व्यवस्थापन सहज बनाउन सक्छन् ।

काँग्रेसको भागमा १० भन्दा बढी मन्त्रालय सुनिश्चित गर्न सके देउवाले आफ्नो पक्षको व्यवस्थापन र इतर समूहकालाई पनि पक्षमा पार्ने माहोल तयार गर्न सक्छन् । महाधिवेशनका बेलामा देउवाले प्रचण्ड र माधव नेपालबाट अप्रत्यक्ष साथ खोजेका छन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधव नेपाल दुवैले देउवालाई फेरि सभापतिमा विजयी हुने गरी आवश्यक साथ दिने वचन दिएको बुझिएको छ । उनीहरुले गठबन्धनभित्रबाट पनि देउवालाई आवश्यक सहयोगको अवस्था बनाउने गरी कदम चाल्ने स्पष्ट पारिसकेका छन् । यसबाट देउवा उत्साही छन् ।

काँग्रेसबाट देउवा पक्षबाट २ मन्त्री र १ राज्यमन्त्री गरी ३ जना बनिसकेका छन् । अब उनले पार्टीभित्रका अन्य हस्तीहरुलाई पनि चित्त बुझाउनुपर्ने हुन्छ । त्यसका लागि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव मन्त्रालय बाँडफाँडमा लचिलो बनिदिनुपर्ने हुन्छ । त्यसका लागि उनीहरु तयार भएको बुझिएको छ ।

यसैगरी, देउवालाई सरकार सञ्चालनमा सहज बनाइदिएर पनि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले साथ दिने रणनीति बताएका छन् । यसले देउवालाई फेरि काँग्रेस सभापति बन्ने बाटो खोल्ने गठबन्धनभित्र चर्चा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्