Logo

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार



काठमाडौं, साउन ११। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ ।

विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचिवको फेरबदल गर्ने गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । सरकार परिवर्तनसँगै स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेका सचिवसमेत परिवर्तन हुने प्रचलन रहेको छ । सोही प्रचलनअनुसार नै सरकारले सचिव परिवर्तनको गृहकार्य अघि बढाएको हो ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै एकैपटक ४० बढी सचिवको सरुवा गरेका थिए । त्यसयता पनि ओली सरकारले दर्जनौंपटक सचिवहरूको सरुवा गरेको थियो ।

सामान्यतया आवश्यकता र विज्ञताका आधारमा सचिव सरुवाको चाँजोपाजो मुख्य सचिवले गर्नुपर्छ । कुन सचिवलाई कहाँ जिम्मेवारी दिँदा ठीक हुन्छ? भन्ने विषयमा मुख्यसचिव नै बढी जानकार हुने भएकाले सचिव सरुवाको जिम्मेवारी मुख्य सचिवलाई दिन सकिएमा त्यसबाट परिणाम राम्रो निस्कन सक्ने विश्लेषण प्रशासन क्षेत्रका विज्ञको छ । तर, हरेकजसो सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले सचिव सरुवामा हस्तक्षेप गरी आफ्नो रुचिअनुसार गर्न थालेपछि भने मन्त्रालयको काम प्रभावकारी हुन छोड्दै आएको हो ।

यसअघि ओली सरकारले विज्ञता र क्याडर बेसका आधारमा भन्दा पनि आफू अनुकूलका व्यक्तिलाई महŒवपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदा ती मन्त्रालयले प्रभावकारी काम गर्न सकेका थिएनन् । अहिले प्रधानमन्त्रीनिकट केही व्यक्तिले सचिवबारे अध्ययन गरिरहेको बुझिएको छ । उनीहरूले कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघका पदाधिकारीहरूसँग औपचारिक र अनौपचारिक रूपमा सचिवबारे जानकारी लिइरहेको स्रोतको भनाइ छ । राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्