Logo

स्वार्थको कालो बादलमा घेरिएको मधेस ‘मुद्दा’



काठमाडौं, साउन ११ । पहिलो मधेस आन्दोलन २०६३ ले अन्तरिम संविधानमा पहिलो पटक मधेसीको पहिचान संस्थागत गर्‍यो। कारण थियो–मधेस आन्दोलनका शक्तिहरूको ओज (संगठित प्रतिनिधित्व)। त्यसपछि जसरी मधेस आन्दोलनका शक्तिहरू विभाजित हुँदै गए मधेस मुद्दा कालो बादलभित्र घेरिँदै गयो। मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, धुव्रीकरणको खेल नयाँ होइन ।

निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो फेहरिस्त लामो छ। तराई कांग्रेसदेखि जसपासम्मको यात्रामा अनेकचोटि विघटन–गठनको उपक्रम चलिआएकै छ। मधेसको राजनीतिमा दलहरूको शक्ति संगठित हुँदा कालो बादल चिरेर मधेस मुद्दा उदाउने छनक दिन्छ।

मधेस मुद्दा ज्युँदो रहेसम्म त्यसको प्राप्तिका लागि प्रयत्न नरोकिने राजनीतिज्ञ खुशीलाल मण्डल बताउँछन्। मधेस मुद्दा बोक्ने काँधहरू विभाजित भएपनि मुद्दा ज्यूँका त्यूँ अटल रहन्छ। मुद्दा बोक्ने काँधहरू अथक अडिग उभिरहन्छ, उनले भने, ‘मधेस मुद्दाले मधेसी राजनीतिलाई मर्न दिँदैन।’ विभाजन नयाँ नभएपछि मधेस राजनीतिमा सबैभन्दा अनौठो के भएको छ भने ‘मधेस मुद्दा’ सत्तामा जाने सिढींको रूपमा प्रयोग हुँदै आएको छ।

सत्तामा गएपछि सत्ता लम्ब्याउने। सत्ता ढाल्ने। फेरि अर्को सरकार बनाउने खेलमा मधेस ‘मुद्दा’लाई अलमल्याइरहेको छ। एमाले–माओवादीको सरकार बन्दाका बखतको ९ बुँदाको पहिलो बुँदा नै मधेस र थारु आन्दोलनका माग सम्बोधन गर्ने भन्ने थियो।

सोही सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा पनि पहिलो बुँदा नै त्यही थियो। कांग्रेस–माओवादीको सरकार बनाउँदाको सात बुँदेमा पनि पहिलो बुँदा यही थियो। मधेसी मोर्चाले सरकारलाई समर्थन दिँदा तयार गरेको तीन बुँदाको पनि पहिलो बुँदा नै यही थियो। मधेसका मुद्दा सम्झौताका बुँदामा कहिल्यै नछुट्ने तर कार्यान्वयन कहिल्यै नहुने बनेको दस्ताबेजमा सिमित गरिँदा मधेस मुद्दामाथिको कालो बादल हट्न नसकेको राजनीतिज्ञ मण्डलको विश्लेषण छ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ। कुनै एक दलको बहुमत सरकार नभएकाले सत्ता सघटक दलहरूको महत्व बढ्छ । अहिलेको सरकारमा जनता समाजवादी पार्टीको महत्वपूर्ण उपस्थिती छ। यो समयलाई जसपाका नेतृत्व पंक्तीले मधेस मुद्दा सम्बोेधनमा उपयोग गर्न सक्नुपर्ने राजनीतिज्ञ मण्डलको भनाइ छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी (जसपा) को संगठित मत परेको छ। पुनःस्थापित संसद्को प्रतिपक्षि कित्तामा आसिन जसपाको महन्थ ठाकुर समूह देउवाको पक्षमा मतदान गरे। जसपा अध्यक्ष उपेन्द्र यादव त देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर गठित गठबन्धनमै सरिक थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्