Logo

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह



काठमाडौं, साउन ११ । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।

स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् । समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता प्रदान गर्न थालेको पालिकाहरूले जनाएका छन् ।

ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा एकल महिलाभन्दा एकल पुरुषलाई जीविकोपार्जन गर्न झनै कठिन भएकाले गाउँपालिकाबाट एकल पुरुषलाई चार वर्षदेखि भत्ता प्रदान गर्दै आएको जानकारी दिए । “यसअघि एक हजार रुपियाँ प्रदान गर्दै आएकोमा यस वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पु¥याएका छौँ”, लोप्चनले भने, “गाउँपालिकाले दिएको एकल पुरुष भत्ताले ती व्यक्तिको दैनिकीमा केही राहत मिलेको छ ।”

ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत तीन वर्षदेखि ६० वर्ष पूरा भई ७० वर्ष पूरा नभएका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । समाजमा एकल महिला जस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले नगरपालिकाबाट एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएको नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिकाले ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई मासिक दुई हजार रुपियाँ भत्ता चालू आर्थिक वर्षदेखि प्रदान गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
“विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन वा घर छोडी गएका ६० वर्ष पूरा भएका विदुर एकल पुरुषलाई मासिक दुई हजार रुपियाँ भत्ता प्रदान गर्न लागिएको हो”, गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले भने, “समाजमा सामाजिक न्याय स्थापना गरी लैङ्गिक समानता कायम गर्न गाउँपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्न लागेको हो ।”

सङ्घीय सरकारबाट अन्य प्रकारका भत्ता लिँदै आएका एकल पुरुषलाई भने गाउँपालिकाले प्रदान गर्ने एकल पुरुष भत्ता कार्यक्रममा समावेश गरिएको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले श्रीमतीको मृत्यु भएको तर पुनः विवाह नगरेका सबै उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ भत्ता प्रदान गर्दै आएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्