Logo

योगेशलाई ओली पक्षधरले हलबाट निकाल्न खोजेको त्यो क्षण



काठमाडौं, ११ साउन । घटना नेकपा एमालेको नवौं महाधिवेशनको हो । ७ वर्ष अघि एमाले नेता योगेश भट्टराईलाई तत्कालीन अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पक्षधरले अधिवेशन हलबाट निकाल्न खोजेका थिए ।

अध्यक्षका अर्का प्रत्याशी माधवकुमार नेपाल पक्षबाट सचिवको उम्मदेवार बनेका भट्टराईले ओलीको स्वास्थ्यमाथि प्रश्न उठाउँदै पर्चा नै बाँड्न लगाएका थिए । उनले ओली स्वास्थ्यका कारण नेतृत्वका लागि सक्षम नभएको विषय राख्दै माधव नेपाललाई जिताउन अपिलसहित पर्चा बाँड्नेसम्ममा पुगेका थिए । पर्चामा ओलीको स्वास्थ्यबारे कुरा उठाएको देखेपछि हंगामा भयो ।

ओली पक्षीय जुझारु नेता कार्यकर्ताले भट्टराईलाई हलबाट बाहिर निकाल्नुपर्ने र महाधिवेशनको प्रतिनिधिबाट पनि हटाउनुपर्ने विषय उठाए । भट्टराईमाथि आक्रमणको प्रयास पनि भयो । तर, त्यसलाई नेपाल पक्षका जुझारु नेता कार्यकर्ता अगाडि बढेर मिलाए ।

यसरी ओली पक्षबाट तारो बन्दै आएका योगेश भट्टराई फेरि उक्त पक्षमा कसरी टिक्न सक्ने हुन् चासोको विषय बनेको छ । उनले एमाले फुटेमा माधव नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । एमालेमै रहने बताइसकेका छन् ।

अहिले एमालेमा ओली पक्ष निकै हावी छ । युथ फोर्स सक्रिय भइसकेको छ । भ्याली कमान्ड समेत बनाइसकेको छ । महेश बस्नेत, पिताम्बर तिमिल्सिना जस्ता जुझारु नेताहरुको पकड युवाहरुमा देखिएको छ । यस्तो संरचना भइसकेको एमालेमा योगेश भट्टराई कमजोर सावित हुन सक्ने देखिएको छ । तैपनि, उनी एमाले जता आफू त्यतै किन भनिरहेका छन् ? चासोको विषय बनेको छ ।

भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । उनको राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि निकटता छ । त्यही निकटताले पनि उनी एमालेमै रहने सम्भावना बलियो भइरहको छ । तर, लामो समय बामदेव गौतमसँग पनि काम गरेकाले उनी को बाट कन्भिन्स हुने हुन् चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot