Logo

एनआरएन अष्ट्रेलिया हाँक्न बढेका नन्द गुरुङ्ग: जहाँ जहिलेसुकै सेवामा समर्पित



रिपोर्टर्स नेपाल, १२ साउन । एउटा नेपालीले विकसित मुलुकको भूमिमा आएर सोच्ने पहिलो कुरो हो, राम्रो जागिर खाने, पैसा कमाउने र मोजमस्ती गर्ने । तर अष्ट्रेलियाको नेपाली समुदायमा यस्ता पात्र छन्, जसको प्रवासी जीवनमा एउटै संकल्प छ, त्यो हो समाजसेवा । हो नन्दु गुरुङ्ग यस्ता पात्र हुन् जसले समाजसेवा बाहेकका अरु केही दायाँ बायाँ केही सोचेकै छैनन् । त्यही अभिरुचीलाई मूर्तरुप दिन गुरुङ्ग आगामी शनिवार हुने एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा पाइला टेक्न निर्वाचनको मैदानमा होमिएका छन् ।

भनिन्छ– जुन मानिस पानीले नुहाउँछ, उसले लुगा फेर्छ । पसिनाले भिजेको मानिसले जिन्दगी फेर्छ । हो, समयले मानिसलाई कुन कठघरामा उभ्याउँछ, त्यसको अन्दाज हुँदैन । सम्भवत भाग र अभागको दूरी यही सानो घेराभित्र अटाउँछ । कुनै कुनै पात्र उखुजस्तै हुन्छन् । तपाइँ जति सानो टुक्रा बनाउनुस्, गुलियो रस यथेष्ट भेटिन्छ । नन्द गुरुङ प्रवासी जीवनमा त्यही उखुका प्रतिबिम्ब हुन् ।
उनी रंग हेर्दैनन् । जात हेर्दैनन् । भूगोल हेर्दैनन् । नेपाली भित्र धर्म कर्म सबै देख्छन् । निरासाले भरिएको मानिसमा उत्साह भर्छन् । खाली पेट, असहाय, अशक्त, बिरामी र जुनसुकै कारणले आपत्मा परेको नेपालीका लागि उनी भरलाग्दो लौरो हुन् । लक्ष्मी र सरस्वती दुबैको वरदान पाएर पनि न आत्तिन जान्दछन्, न मात्तिन । व्यवहारमा लचकता र बोलीमा मधुरता उनका गहना हुन् ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको यही जुलाई ३१ तारिखका दिन सम्पन्न हुन गइरहेको निर्वाचनमा यिनै बहुआयामिक व्यक्तित्व अध्यक्षका प्रत्यासी रहेका छन् । यो संस्थाका लागि कुनै नौलो व्यक्ति होइनन् । २०१५मा राष्ट्रिय समन्वय समिति सदस्य, राज्य संयोजक, उपाध्यक्ष हुँदै हाल प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् । आम नेपाली युवाजस्तै उनी माध्यमिक तहको पढाइ आफ्नो नाभी गाडिएको थलो लमजुङको कपुर गाउँबाट पूरा गरी राजधानी काठमाडौं हानिए । अस्कल कलेजमा विज्ञान विषय लिएर बीएस्सी पास गरे । केही समय विद्यार्थी राजनीति गरे । राजनीतिकै माध्यमबाट समाजसेवा गरे । यसले उनको भोक मरेन । राजधानीको चारघेरोमा मात्र मन अडिएन । ‘ठाउँ पनि हेरिने, मुख पनि फेरिने किन सात समुद्रपारको यात्रामा नजाऔं ?’ हो, उनले आफैंभित्र प्रश्नसँगै तत्काल उत्तर खोजे । आखिर परदेश जाने निधो गरेर सन् १९९५ मा एकाउन्टिङमा स्नातक गर्न उनी अस्ट्रेलिया पसे ।

अस्ट्रेलियाको माटो टेक्नासाथ रुचिको कर्मलाई निरन्तरता दिए । त्यो समयमा अहिले जस्तो नेपालीको बाक्लो उपस्थिति थिएन । उनको अन्तरचक्षुले सेवाको विकल्प सेवा नै देख्यो । त्यसैले त उनी भन्छन्– ‘म जीवनप्रति सधैं आशावादी छु । मानवीय प्रेम र कुवाको पानी खर्च गरेर कहिल्यै सकिंदैन । मान्छेलाई हँसाउँन सकेका दिन आफू थोरै सफल भएको भान पर्छ । घृणा र हिंसालाई मैले कहिल्यै प्रेम गर्न जानिन ।’

नेपालीको बाक्लो उपस्थिति रहेको ग्रान्भील नेपलिज कम्युनिटीको नेतृत्व हाँकिसकेका गुरुङले प्रवासका नेपालीको अभिभावकीय भूमिका निभाउनेमा दुईमत छैन । एनआरएनए अष्ट्रेलियामा सुरुवात्देखि नै विभिन्न रचनात्मक भूमिकामा रहेका गुरुङले यो क्रमलाई आजसम्म निरन्तरता दिएका छन् । बहुआयामिक व्यक्तित्व गुरुङ फुटवलका सौखिन पनि हुन् । साउथ वेस्टमा बस्ने नेपालीलाई समेटेर उनले स्पोर्टस क्लब पनि गठन गरेका छन् । गुरुङ त्यसको संरक्षक हुन् । अष्ट्रेलियाका नेपाली माझ चर्चित ग्रान्भील फुटबल क्लबको त उनी संस्थापक हुन् ।

एनआरएनएको अध्यक्ष भएपछि के गर्छन् त ? उनको उत्तर हाजिर छ– ‘ पहिलो सेवा, दोस्रो सेवा अनि तेस्रो सेवा नै ।’ अनि भन्छन्, म एकदशकभन्दा लामो समयदेखि कर्मभूमिको यो आँगनमा एनआरएनए लगायतका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर आफ्नो अभिभारा निस्वार्थ तवरले पुरा गर्दै आएको छु । मैले जीवनका महत्वपूर्ण समय सुखसयल र मोजमस्ती भन्दापनि अष्ट्रेलियामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको तपाइँहरु सामु छिपेको छैन । पछिल्ला एकदशकमा अष्ट्रेलियामा नेपालीहरुको संख्यात्मक बृद्धिदर द्रुतगतिमा भएको छ, त्यो सँगसँगै धेरै समस्याहरु पनि हामीले प्रत्यक्ष र परोक्षरुपमा भोग्नुपरेको तथ्य सर्वविदितै छ । एनआरएनएको विभिन्न पदमा बस्दा मैले आफ्नो समय, बुद्धि र विवेकले भ्याएसम्म हरेक क्षेत्रमा सकृय स्वयंसेवीको भूमिका निर्वाह गरेको छु ।

उनी भन्छन्– विगत एकदशक भन्दा लामो एनआरएनए यात्रामा धेरै तितामिठा अनुभव संगालेको छु, नेपाली कला, भाषा र संस्कृति अनि सामाजिक सद्भावका यात्रामा धेरैपटक तपाइँहरुसँग नाचेको छु, हाँसेको छु र रमाइलो गरेको छु । अनि सातसमुन्द्र पारी सुन्दर भविश्यको खोजीमा आएका नेपालीको पीडामा धेरैपटक भक्कानिएर रोएको छु । म कर्म र इमान्दारीतामा विश्वास गर्छु, र एनआरएनएलाई यहाँ रहेका सबै नेपालीको साझा र सबल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । एनआरएनएका आफ्ना उद्धेश्यहरु छन्, कार्ययोजना छ । यो एउटा पवित्र संस्थाको उचाइ र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छाँै । म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूर्ण शुभचिन्तक तपाइँहरुको आवाजलाई समेट्दै आफ्ना एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु ।



प्रतिक्रिया दिनुहोस्