Logo

उमेश श्रेष्ठ स्वच्छ छवि भएको व्यक्ति हो, उहाँ मन्त्री हुँदा किन आलोचना ? : डा. दिक्षित



काठमाडौं, १२ साउन । नागरिक समाजका अगुवा तथा वरिष्ठ डा. सुन्दरमणी दिक्षितले भर्खरै नियुक्त भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यताले नियुक्त गरेको बताए । उनले भने,‘देउवाले खाली भएरै मात्रै राख्नैपर्ने भएकाले बाध्यताले आफ्नो खेमाका श्रेष्ठलाई ल्याएका हुन् ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो बताएका हुन् । दिक्षितले भष्ट्राचार नगरेको र स्वच्छ छवि भएका उमेशलाई स्वास्थ्यमन्त्री बनाईएको भन्दै यसमा खुशी व्यक्त गरे । उनले श्रेष्ठ आँफैं सम्पन्नशाली भएकोले भ्रष्टाचार नगर्ने बिश्वास गरे । उनले श्रेष्ठ स्वच्छ छवि भएको व्यक्ति भएकोले मन्त्री बनाईँदा किन आलोचना भन्दै उल्टै प्रश्न गरेका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘देउवा कांग्रेसका पावरफुल प्रधानमन्त्री होइनन्, रहरले भएका होइनन्, धकेलेर भएका हुन् ।’ उनले प्रधानमन्त्री देउवाले श्रेष्ठलाई मन्त्री बनाएकोमा खुशी व्यक्त गर्दै यसलाई देउवाको राम्रो कदमको रुपमा पनि चित्रण गरे ।

उनले आगामी तीन महिनाभित्र ३७ प्रतिशतलाई खोप दिन नसकेमा स्थिति भयावह हुनेतर्फ पनि सरकारको ध्यानाकार्षण गराए । उनले भने, ‘अब २/३ महिनामा ३७ प्रतिशतलाई चाँडोभन्दा चाँडो खोप दिन सकेमा भाइरस नियन्त्रण हुन्छ । नत्रभने कोरोनाको तेस्रो भेरियन्टलाई यी खोपले काम गर्दैन् ।’

संसारभर कोरोना खोपको राजनीतिक र आर्थिक चलखेल भएको पनि उनले सुनाए । उनले नेपालमा ल्याइएको जोनसोन एण्ड जोनसोन खोप एकदमै राम्रो हो भन्दै नराम्रो हल्ला चलखेलकै कारण चलेको पनि स्पष्ट पारे । उनले कोरोना परीक्षण नेपालमा नगन्ने मात्रामा भएको बताए । उनले भने,‘अहिलेसम्म ८,९,१० प्रतिशत मात्र खोप दिइएको छ । संक्रमणको अवस्थाको बारेमा सरकारले चासो दिएन । यो दुःखद् पक्ष हो । संक्रमण कहाँ पुग्यो, कुन अवस्थामा छ, यसबारे मनिटरिङ कसैले गरेको छैन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले खोपबारे आफ्नो सल्लाह नसुनेको भन्दै अबको सरकारले त्यसो नगर्ने विश्वास दिलाए । उनले १४ वर्षमाथिका व्यक्तिहरुलाई खोप दिलाउनैपर्ने बताए । सरकारले होमवर्क नगरी निषेधाज्ञा खुकुलो पार्दा पछिल्लो दिनमा ह्वात्तै संक्रमण फैलिएको उनको भनाई छ ।

डा. दिक्षितले यातायातमा मापदण्ड अपनाएको भनिएपनि कसैले निगरानी नगरेको गुनासो गरे । उनले अहिले पनि देश कोरोना जोखिमको ठुलो खतरामा परेको भन्दै निषेधाज्ञा खुकुलो पार्दै लैजानु गलत भएको टिप्पणी गरे ।

उनले टोल–टोलमा स्वंयसेवक राखेर निगरानी राख्नसमेत सम्वद्ध निकायलाई सल्लाह दिए । उनले कोरोना संक्रमण कम गर्न मेयरलाई मनिटरिङको जिम्मा दिई नियन्त्रणमा सहभागी गराउनुपर्नेमा जोड दिए । स्थानिय निकायले जिम्मा लिनुपर्ने उनको भनाई थियो । तेस्रो भेरियन्ट नियन्त्रणको लागि गृह र अर्थमन्त्रालयले विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्