Logo

प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन



काठमाडौं, साउन १३।इ चङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन निर्माण गरिएको थियो तर अहिले सो भवन अलपत्र बनेको छ ।

सुकुम्बासी र सहरी गरिबका लागि भनेर निर्माण गरिएको मुलुकको यो पहिलो सार्वजनिक भवन समेत हो । करिब छ रोपनी क्षेत्रफलमा निर्मित सो सार्वजनिक भवनमा सुकुम्बासी र सहरी गरिबहरूलाई कसरी बसोबास गराउने विषयमा अझै पनि सहरी विकास मन्त्रालय टुङ्गोमा पुग्न सकेको छैन । निर्माण सम्पन्न भएकै वर्ष ठेकेदार कम्पनीले सहरी विकास मन्त्रालयलाई भवन हस्तान्तरण गरेको थियो ।

सुन्दर, सभ्य र व्यवस्थित सहरको निर्माण तथा सहरी गरिब जथाभावी सार्वजनिक स्थलमा बसोबास नगरुन् भन्ने उद्देश्यसहित निर्माण गरिएको सो भवन सम्बन्धित निकायले समयमा निर्णय नलिँदा लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेको छैन ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले अहिलेसम्म सुकुम्बासी तथा सहरी गरिबको पहिचान हुन नसकेको बताए । आवश्यक मापदण्ड तथा कार्यविधिको अभावमा भवन सञ्चालनमा आउन नसकेको उनको भनाई छ ।

उनले भने “भवनमा सहरी गरिब र सुकुम्बासीलाई बसोबास गराई सञ्चालनमा ल्याउन धेरै प्रयास भएको हो । बसोबास गराउनुअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिब र सुकुम्बासीको वर्गीकरण हुनुपथ्र्यो तर अहिलेसम्म हुन सकेको छैन ।”

भवन सहरी विकास मन्त्रालयले निर्माण गरेको हो । भवनमा बसोबास गराउनेको वर्गीकरण जिम्मेवारी भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भएको उनले स्पष्ट पारे।

सुरुमा राजधानीस्थित सुन्दरीघाटका सुकुम्बासीलाई बसोबास गराउन सो भवन निर्माण गर्ने भनिएको थियो । त्यसपछि राजधानीका खोला किनारमा अव्यवस्थित बस्तीलाई सो स्थानमा स्थानान्तरण गर्ने बताइए पनि त्यो काम सात वर्षमा पनि हुन सकेको छैन । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्