Logo

बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि



काठमाडौं, साउन १३। गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालन छन् । गत आवमा उनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

गत आवमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन करीब १७ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

कोरोना महामारीका बीच पनि व्यवसाय १७ प्रतिशतले बढ्नुलाई निर्जीवन बीमा कम्पनीहरूले सकारात्मक रूपमा लिएका छन् । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले गत आवमा व्यावसायिक वृद्धिदर राम्रो भएको बताए ।

बैंकहरूको कर्जा प्रवाह बढ्दा निर्जीवन बीमा व्यवसाय बढेको पन्तको भनाइ छ । बैंकबाट कर्जा लिएर गरिने कुनै पनि व्यवसाय तथा बनाइने घरको अनिवार्य रूपमा बीमा गर्नुपर्ने हुन्छ । त्यसैले बैंकको कर्जा बढ्दा स्वतः निर्जीवन बीमा व्यवसाय पनि बढेको सीईओ पन्तले बताए ।

गत आवमा वाणिज्य बैंकहरूले ८ खर्ब १५ अर्ब ४४ करोड नयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, विकास बैंक तथा अन्य वित्तीय संस्थाहरूले पनि उच्च मात्रामा कर्जा प्रवाह गरेका छन् । यसरी कर्जा प्रवाह उच्च हुँदा बीमाको व्यवसाय पनि बढेको कम्पनीहरूको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्