Logo

गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी



काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको छ । गठबन्धनले ओलीलाई हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने दुवै उद्देश्य पूरा गरेको छ । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भए ।

देउवा प्रधानमन्त्री बनेपछि अमेरिकी राजदूत रेन्डी बेरीको सक्रियतालाई चासोका साथ हेरिएको छ । अमेरिका विरोधी पहिचान बनाएकाहरु गठबन्धनमा हुनु र देउवा अमेरिकासँग सुमधुर सम्बन्ध बनाउँदै आएका हुनुले सुरुमै केही टकरावहरु देखिन थालेका छन् ।

आज गठबन्धनको बालुवाटारमा डाकिएको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरु सरकारमा नजाने स्पष्ट पारे । सरकारमा जाने म्यान्डेट जनताले नदिएको भने । तर, उनले एमसीसी पारित गर्न खोजे गठबन्धन नै छाड्ने चेतावनी दिए ।

देउवा प्रधानमन्त्री बन्नुमा एमसीसी पारितको उद्देश्य पनि निहित रहेको चर्चा चलिरहँदा केसीले दिएको चेतावनीलाई गम्भीरताका साथ लिइएको छ । गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्र पनि एमसीसीको विरोधमा देखिदै आएको छ । एमसीसीको मुद्दाले गठबन्धनमा तरंग नै आउने संकेतहरु देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्