Logo

ओलीलाई एमाले अध्यक्षबाट हटाइछाड्ने माधव नेपालको रणनीति



काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग आँट र हिम्मत रहेको भन्दै आएका छन् । मुटु दह्रो बनाएर भिड्न उत्रिएको निकटस्थहरुलाई बताउँदै केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाइछाड्ने सन्देश दिइरहेका छन् । उनले पछिल्लो समय ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीतिका साथ कदमहरु चालिरहेका छन् ।

यसै हप्ता माधव नेपालले कार्यकर्तासँगको छलफलमा भने,‘ओली सिद्धिसकेको त भन्दिनँ, घिटघिट बाँकी छ ।’ राजनीतिक रुपमा ओली सिद्धिने अवस्थामा भएको दाबी गर्दै उनले महत्वपूर्ण संकेतहरु गरेका छन् । ओलीलाई घाटमा पुगेकार घाटे वैद्यले काम गर्न सक्छ कि भन्नेमात्र बाँकी रहेको तर्क गर्दै राजनीतिक रुपमा सिद्धिन लागेको बताए । यसबाट नेपाल जसरी पनि ओलीलाई पार्टी अध्यक्षबाट ढिलो या चाँडो हटाउने गरी बढेको स्पष्ट हुन्छ ।

पार्टी एकताका लागि उनले ओलीको अध्यक्षबाट राजीनामालाई शर्तका रुपमा सारेका छन् । ओली हटेमा तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर जान नेपाल तयार रहेको बुझिएको छ ।

कार्यवाहक अध्यक्षमार्फत् एमालेको दशौं महाधिवेशन गर्न सकिने माधव नेपालको प्रस्ताव छ । महाधिवेशनमा जाँदा पनि उनको शर्त छ । २ जेठ २०७५ सम्मको एमाले संगठित सदस्यलाई मात्र मानेर महाधिवेशनमा जानुपर्ने उनको शर्त छ । महाधिवेशनमा जाँदा त्यसपछि संगठित सदस्य बनेकालाई मान्न नेपाल तयार छैनन् ।

नेपालले जसरी हुन्छ सशर्त एमालेको महाधिवेशनमा जाने विकल्प सारेको बुझिदैछ । तर, महाधिवेशनमा जाँदा ओलीले उनको सर्त मान्ने सम्भावना कमजोर छ । २ जेठ २०७५ पछि संगठित सदस्यता लिएकालाई अस्वीकार गरेर ओली अगाडि बढ्न तयार छैनन् । न त उनी अध्यक्ष पद छाड्न तयार छन् ।

ओली अध्यक्ष छाड्न नचाहने र नेपाल छाड्नुपर्ने शर्त राख्ने, ओली नयाँ संगठित सदस्य सहित महाधिवेशनमा जान तयार हुने तर माधव नेपाल नहुने । ओली माधव नेपालसहितका विरोधी क्याम्पका सांसदले पार्टी छाडुन् भन्ने चाहने तर नेपाल सांसद पद नजाओस् भनेर नछाड्ने । यस्तो परिस्थितिले नेकपा एमालेको विवाद रोचक मोडमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्