Logo

४ पूर्वमन्त्रीले ओलीको साथ किन छाडे



काठमाडौं, १३ साउन । लामो समय माओवादीबाट राजनीति गरी नेकपा एमालेमा प्रवेश गरेका ४ पूर्वमन्त्रीहरुले केपी शर्मा ओलीको साथ छाडेका छन् । उनीहरुले माओवादी केन्द्रकै सांसदका रुपमा पुर्नबहालीको प्रयास समेत थालेका छन् ।

ओली पक्षमा लागेर मन्त्री बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादीकै सदस्य रहेको दाबी समेत गरेका छन् । यो दाबीमा उनीहरुको सांसद पदमा पुनःबहाली हुने उद्देश्य समेत देखिन्छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवादमा प्रचण्डलाई छाडेर रायमाझीसहित ४ सांसदले गुट परिवर्तन गरी ओलीको साथमा गएका थिए । ओलीले उनीहरुलाई मन्त्री पनि बनाए । तर, दल त्यागसम्बन्धी नियम अनुसार सांसद पदबाट मुक्त भए । सांसद नभएको भन्दै सर्वोच्च अदालतले मन्त्री पदमा नराख्न आदेश जारी गरेपछि पदमुक्त भए ।

एमालेमा विकसित घटनापछि रायमाझीसहितका ४ जना निर्वाचन आयोग धाउन थाले । उनीहरुले विभिन्न प्रमाण र दस्तावेज जुटाएर आफूहरु नेकपा एमालेमा नभई नेकपा माओवादी केन्द्रमै रहेको जिकिर गरेका छन् । आयोगको दस्तावेजमा उनीहरु एमालेको कुनैपनि सदस्य नरहेको देखिन्छ ।

आज सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन आयोगले २३ असारमा दिएको विवरणमा माओवादी केन्द्रकै सदस्य रहेको जिकिर समेत गरेका छन् । त्यस आधारमा दल त्याग नगरेको भन्दै सांसद पदबाट हटाउने निर्णयको बदरको माग समेत गरेका छन् । उनीहरुले ओलीको साथ छाडेको र माओवादीमै रहेर सांसदमा पुनःबहालीको रणनीति बनाएका छन् ।

२६ चैत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ जनालाई सांसद पदबाट हटाउन संसद सचिवालयमा पत्र लेखेका थिए । त्यस आधारमा सभामुख अग्निप्रसाद सापकोटाले हटाउने सूचना जारी गरेका थिए । यसलाई ४ पूर्वमन्त्रीले गैरकानुनी जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्