Logo

नेपाल एयरलाइन्सका यात्रुलाई डीडीसीका उत्पादन



काठमाडौं, साउन १४ । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए।

हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको छ । डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन खरिद गर्ने सूचना प्रकाशित गरेको छ । मेसिन खरिद भइसकेपछि निगमसँग सम्झौता गरी उत्पादन बेच्ने उनले बताए । उनले भने, “अहिले सम्झौता भएको छैन । हामीले मेसिन ल्याएर उत्पादन सुरु गरेपछि दुई पक्षबीच सम्झौता हुन्छ ।

त्यसपछि मागबमोजिम हामीले दुग्धजन्य पदार्थ दिनेछौँ । ”निगमलाई दिन आठदेखि १० ग्रामको बटरको प्याक र ५० एमएल दहीको बट्टा बनाउने तयारी डीडीसीको रहेको छ । ती जहाजमा वार्षिक छ लाखदेखि आठ लाखसम्म खपत हुने बताइएको छ । वार्षिक एकदेखि डेढ अर्बको कारोबार हुने अनुमान आफूहरूले गरेको उनले बताए ।

मेसिन खरिद गरेर आएपछि दुईदेखि तीन महिनाभित्रमा डीडीसीबाट उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुने उनले बताए । उनले भने, “डीडीसीको मुख्य उद्देश्य स्वदेशी उत्पादनलाई विदेशसम्म पु(याउने, आफ्नो देशको जहाजमा आफ्नै देशबाट उत्पादित वस्तु बिक्री वितरण होस् भन्ने हामीले चाहेका हौँ । ”

निगमले डीडीसीबाट उत्पादित वस्तु खरिद गर्न थाले मौज्दात रहेको दुग्ध पदार्थको खपत बढ्ने विश्वास आफूहरूले लिए महाप्रबन्धक पौडेलले बताए । मौज्दात रहेको दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई रकम तिर्न समस्या भइरहेको डीडीसीले जनाएको छ । किसानको बक्यौता रकम भुक्तानीका लागि सरकारले २० करोड रुपियाँ सहुलियत ऋणमा दिएको छ । किसानलाई अझै ४५ करोड रुपियाँ तिर्न बाँकी रहेको छ ।

डीडीसीले आफ्नो दुग्धजन्य पदार्थको खपत बढाउन आमउपभोक्ताका लागि धुलो दूध बजारमा ल्याउनुका साथै कुखुराका लागि दानामा तथा खोपमा प्रयोग हुने धुलो दूध पनि बिक्री वितरण गर्न थालेको छ । घिउ जापान निर्यात गर्नुका साथै नेपाली सेनालाई पनि दूध बेच्न थालेको छ । दुग्ध क्षेत्रमा ३० प्रतिशत बजार ओगटेको डीडीसीको बिक्री वितरण निजी क्षेत्रभन्दा राम्रो देखिन्छ तैपनि वार्षिक रूपमा घाटा देखाइरहेको छ । हाल डीडीसी १० करोडको घाटामा रहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्