Logo

आन्तरिकतर्फका जहाज भरिभराउ



काठमाडौं, साउन १४ । कोरोना भाइरसको दोस्रो लहरसँगै सुनसान बनेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता विस्तारै बढ्न थालेको छ। महामारीका कारण लामो समय सुनसान बनेको विमानस्थलको आन्तरिक टर्मिनल केही दिनयता खचाखच देखिन थालेको हो।

करिब दुई महिना बन्द भएर असार १७ देखि सञ्चालनमा आएको आन्तरिकतर्फको नियमित उडानमा सामान्य अवस्थामा जस्तै यात्रु छन्। आन्तरिक हवाई उडान पुनः सुरु भएको एक महिनामै दैनिक एक सय १० उडान हुन थालेका छन्। दैनिक ६४ बाट सुरु भएको घरेलुतर्फको उडान संख्या अहिले एक सय १० पुगेको छ। दैनिक १० हजारभन्दा बढी यात्रुले हवाई सेवा लिइरहेका छन्।

एक महिनाअघि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एअरलाइन्सलाई दुई, तारा एअरलाई दुई तथा समिट र सीता एअरलाई २–२ गरी दैनिक ६४ उडानको अनुमति दिएको थियो। तर बुधबार एकै दिन बुद्धले ६०, यतीले २०, श्रीले १६, ताराले चार, सौर्यले पाँच तथा समिट र सीताले एक–एक उडान भरेका छन्। उडान संख्या एक महिनामा दोब्बर भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार गत आइतबार १० हजार नौ सय ९९, सोमबार ११ हजार तीन सय ९६ र मंगलबार नौ हजार आठ सय ६९ यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका छन्।

कोरोना प्रभाव सुरु हुनुअघि आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो । हवाई सेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान पुनः सञ्चालनमा आएको एक महिना नबित्दै व्यवसाय पुरानै लयमा फर्किन थालेको हो । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्