Logo

दोस्रो पुस्तालाई नेतृत्वमा ल्याएर एमाले मिलाउने प्रयास



काठमाडौं, १४ साउन । नेकपा एमाले एकताका लागि मध्यमार्गी दोस्रो र तेस्रो पुस्ताका नेताहरुले नयाँ विकल्पबारे छलफल बढाएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको तेस्रो व्यक्तिलाई नेतृत्वमा ल्याएर पार्टी एकता जोगाउनेबारे छलफल चलाएका हुन् ।

ओली र नेपालका अलावा ७० कटेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमबाहेकबाट नेतृत्व खोज्ने र एकता जोगाउनेमा धेरै नेताहरु लचिलो बन्दै गएका छन् । स्वयं नेता नेपाल र खनाल पनि यसमा सहमत छन् । गौतम पनि यो विकल्पमा लचिलो भएको बुझिएको छ । तर, अध्यक्ष ओली यसमा तयार देखिएका छैनन् । विगतमा उनले नेकपा छँदै नेतृत्वमा आफू र प्रचण्डबाहेक तेस्रो व्यक्तिको प्रस्ताव भने राखेका थिए ।

अहिले नेकपा एमाले न मिल्न सक्छ न जुट्न । एमाले अनिर्णयको बन्दी भइरहँदा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको विकल्प खोज्ने प्रयास पनि भइरहेको छ । तर, त्यो सफल हुन सकेको छैन । एमालेमा जसरी पनि ओलीलाई हटाउन नेपाल लागेका छन् । तर, सकिरहेका छैनन् । तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर महाधिवेशनमा जाने सम्मको सर्त नेपालको छ । तर, यसमा ओली सहमत नभएके बुझएको छ ।

एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफल गर्न चाहेपनि वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छैनन् । उनले ओलीमाथि अलमलाउन मात्र खोजेको आरोप लगाइरहेका छन् । ओली भने विभिन्न शर्त र प्रस्ताव सारेर माधव नेपालसँग राजनीतिक लेनदेन गर्न खोजिरहेका छन् । विश्वस्त स्रोतका अनुसार ओलीसँग निकट केही नेताहरुले नेता नेपालले विभिन्न माध्यमले कुराकानी गर्दै आएका छन् । उनले एमाले एकताका लागि केही विकल्पहरु समेत सारेको बुझिएको छ ।

माधव नेपालले ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् । अध्यक्षबाट ओली हटेर तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर जान सकिने शर्त राखेको बुझिएको छ । कार्यवाहक अध्यक्षमार्फत् एमालेको दशौं महाधिवेशन गर्न सकिने प्रस्ताव सारेका छन् । तर, २ जेठ २०७५ सम्मको संगठित सदस्यलाई नै मानेर महाधिवेशनमा जानुपर्ने उनको शर्त छ । दोस्रो विकल्पमा एमालेमा समान हैसियतमा ४ जनाको अध्यक्षमण्डल राख्न सकिने विषय छ । अध्यक्ष ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसहितको अध्यक्ष मण्डल बनाएर जान सकिनेबारे पनि नेपालले प्रस्ताव गरेका छन् । विश्वस्त स्रोतका अनुसार समान हैसियतको अध्यक्षमण्डल बनाएर २ जेठ २०७५ को पार्टी संगठनलाई नै टेकेर महाधिवेशनमा जान सकिने विषय नेपालबाट पुगेका छन् ।

एमालेको ४ लाख भन्दा बढी संगठित सदस्य नवौं महाधिवेशनमा भएकामा ओलीले पछिल्लो समय झण्डै २ लाख थपिसकेको भन्दै नेपाल पक्ष त्यसलाई मानेर महाधिवेशनमा जान तयार छैन । पुरानै संगठित सदस्यको आधारमा महाधिवेशनमा जाने भएमात्र नेपाल पक्ष तयार छ । तर, नेपालले राखेको शर्त र प्रस्तावलाई ओलीले मान्ने सम्भावना क्षीण छ । उनी कुनै हालतमा अध्यक्ष छाड्न तयार छैनन् । माधव नेपाललाई मात्र दोस्रो अध्यक्ष दिन तयार छन् । समान हैसियत नेपाललाई समेत दिन तयार नहुँदा खनाल र गौतमलाई अध्यक्षमण्डलमा राखेर जान कुनै हालतमा नमान्ने निश्चितप्रायः छ । यसकारण पनि एमालेको औपचारिक विभाजनको सम्भावना बढेर गएको छ । सम्भवत अर्को हप्ताभित्र एमालेको वार पार हुने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्