Logo

माधव नेपाललाई ज्ञवालीको प्रश्न : २०७५ जेठ २ भन्दा अगाडि एमालेमा दुई जना अध्यक्ष थिए र ? (भिडिओसहित)



काठमाडौं, १४ साउन । नेकपा (एमाले) का सचिव प्रदीप कुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानको लागि र एकताको लागि छलफल जारी नै रहेको तर निश्कर्ष ननिस्किएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दुवै पक्षका नेताहरु पार्टी एकताको लागि सक्रिय भैरहेको उनको भनाई छ ।

माधव कुमार नेपाल र उनी पक्षधर कतिपय नेताहरु एकताको लागि कति गम्भीर छन् ? भन्ने विषयमा भने प्रश्न उठिरहेको पनि ज्ञवालीले टिप्पणी गरे । उनले भने,‘तर, पार्टीभित्र ठूलो पँक्ति छ एकता जोगाउनुपर्छ भनेर लागेको छ । एमालेको एकतालाई जोगाउँदामात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिन्छ, त्यसो भएको हुनाले मुलुकको लोकतन्त्र र संविधानको रक्षा गर्न सकिन्छ । हामी एकता हुन्छ भन्नेमा आशावादी छौं ।’ अहिले पार्टीको एकताभन्दापनि विभाजनमा जोड दिने प्रवृत्ति पनि देखिएको उनको गुनासो छ ।

माधव नेपाललाई अध्यक्ष बनाउनको लागि केपी शर्मा ओली तयार हुनुभएको हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता ज्ञवालीले भने,‘पहिलो कुरा, यो कस्तो भयो भने हिजो साथीहरु के भन्दै हुनुहुन्थ्यो भने, अलिकति एकताको वातावरण बिग्रेकेको भनेको चाहीँ पार्टीलाई जेठ २ २०७५ को अवस्थामा फर्काउन नचाहेर हो, त्यसकारणले एकता नभएको हो भनेर साथीहरुले भन्नुभयो । कार्यदलले बडो मेहनत गरेर २०७५ जेठ २ गते फर्काउने निश्कर्ष निकाल्यो । तर, साथीहरु एकपछि अर्को नयाँ नयाँ शर्तहरु तेर्साउँदै हुनुहुन्छ । २०७५ जेठ २ भन्दा अघि दुई वटा अध्यक्ष थिए र ? त्यसमाथि पनि महाधिवेशनबाट निर्वाचित भएको अध्यक्षको हाराहारीमा अधिकारसहितको अध्यक्ष, पहिलो कुरा नेपालमा यो प्रणाली भनेको टोटल्ली फेलियर प्रणाली हो । जस्तो नेकपामा हामीले अभ्यास गर्यौं, दुई वटा अध्यक्षको ।’



प्रतिक्रिया दिनुहोस्