Logo

ज्वेलर्समा हतियार देखाई लुटपाट गर्ने खोज्ने गिरोह पक्राउ



मोरङ, १४ साउन । शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्ने खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जना बुधबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका २० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका ४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्र बहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका ६ घर भएका ३० वर्षीय चिरञ्जिवि राई, भोजपुर पौवादुम्मा गाउँपालिका ३ घर भएका ३० वर्षीय नगेन्द्र राई, सुनसरी गढी गाउँपालिका १ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका ५ बस्ने २२ वर्षीय मिशन राई र मोरङ सुन्दरहरैचा नगरपालिका ७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसके पश्चात वुढी खोलाको बाटो हुँदै ईटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको तथा साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियार सहित प्रमोद चौधरी लगायत ३ जना प्रवेश गरेको र अन्य ३ जना उक्त पसलको वरिपरि निग्रानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै सुन्दरहरैचा नगरपालिका ५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाई राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्रि राइफलको ४ राउण्ड गोली र २ थान संचार सेट प्रहरीले बरामद गरेको छ । साथै उनीहरुको साथबाट को.२ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाईकल, को.२० प १८६ मोटरसाईकल, को.८ प ६५८३ मोटरसाईकल, को.२१ प ६७०३ मोटरसाईकल, ८ थान मोबाइल र नगद १६ हजार १ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्