Logo

कोकिन कारोबारीको गिराेहमा प्रहरी नै आबद्ध



काठमाडौं १५ साउन । लागू औषध कोकिन कारोबारमा संलग्न गिरोहमा प्रहरीको समेत आबद्धता भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले एक किलो ४ सय ग्राम कोकिन बरामद गरी एक प्रहरी जवानसहित ६ जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

गोरखाका सुरज गुरुङको समूहलाई ब्युरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा प्रहरी जवान एकराज गुरुङसमेत पक्राउ परेका हुन् । हुम्लामा कार्यरत जवान गुरुङ पटकपटक उपचारका नाममा काठमाडौं आउने र तस्करीमा सघाउने गरेको अनुसन्धानमा खुलेको छ ।

ब्युरोले शुक्रबार सुरुमा पाँच सय ग्राम कोकिनसहित पकनाजोलको एक होटेलबाट पाँचजनालाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा गिरोहका नाइके गुरुङलाई चितवनबाट पक्राउ गरी थप कोकिन बरामद गरेको हो । सो गिरोहबाट नक्कली सुनसमेत बरामद भएको छ ।

पक्राउ पर्नेहरू धेरैजसो गोरखाका छन् । मुकुन्द खड्का, मन गुरुङ, रेशमबहादुर रानालगायतलाई पनि पक्राउ गरी ब्युरोले अनुसन्धान गरिरहेको छ । नक्कली सुनको कारोबारमा संलग्न सुर्खेतका नन्दलाल मान्तलाई पनि प्रहरीले उनीहरूसँगै पक्राउ गरेको छ । उनीबाट दुई किलो चार सय ग्राम नक्कली सुनसमेत बरामद गरेको छ ।

अमेरिकामा उत्पादन हुने कोकिनको कारोबारमा नेपाल ट्रान्जिट हुने गरेको छ । सो कोकिन कसरी यो गिरोहको हातमा प¥यो भन्नेमा अनुसन्धान भइरहेको ब्युरोका अधिकारीहरू बताउँछन् । बरामद कोकिनको मूल्य करिब साढे चार करोड छ ।

नेपालमा कोकिन प्रयोग गर्ने दुर्व्यसनी खासै छैनन् । उनीहरूले अन्तर्राष्ट्रिय गिरोहसँगै मिलेर कारोबार गरेको हुन सक्ने आशंकामा ब्युरोले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसकिएकाले यसबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन । पक्राउ परेका सुरज गुरुङ लामो समयदेखि प्रहरीको खोजी सूचीमा भएका व्यक्ति हुन् ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्