Logo

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत हुने, राजदूत क्वात्रा तयारीको लागि नयाँ दिल्लीमा



काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण भारत नै हुने निश्चित् भएको छ । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले बधाई दिएको थिएन ।

तर, प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधार्इृ दिएका थिए । त्यसपछि चीन, अमेरिकालगायत विभिन्न देशबाट उनलाई बधाई आइसकेको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई उनको निजी निवास बुढानिलकण्ठै पुगेर नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले बधाई दिएका थिए । भारतीय राजदूत विनयमोहन क्वात्राले पनि उनलाई बुढानिलकण्ठमै पुगेर बधाई दिएका थिए ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएको तीन साता बित्न लाग्दापनि अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुले सरकारमा क–कसलाई पठाउने भनेर नाम दिन ढिलाई गर्दा मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाई भैरहेको छ । मन्त्रिपरिषद् विस्तार गरिसकेपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानसक्ने तयारी भएको छ ।

यसको लागि भारतीय राजदूत क्वात्रा नयाँ दिल्ली प्रस्थान् गरिसकेका छन् । उनले प्रधानमन्त्री देउवाको छोटो भ्रमण गराउनेगरि तयारी थालेको उच्च स्रोतले जनाएको छ । स्रोतले भन्यो,‘प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत नै हुन्छ । यसको लागि भारतले तयारीसमेत थालिसकेको छ। अहिले राजदूत नयाँ दिल्लीमा हुनुहुन्छ ।’ देउवाले दुई दिने भ्रमण गर्ने र त्यस क्रममा सार्वजनिक कार्यक्रममा सरिक हुनेभन्दापनि उच्चस्तरीय राजनीतिक भेटवार्तामात्रै गर्ने बुझिएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्