Logo

‘ज्ञवालीका कविता–काव्यमा वर्गद्वन्द्व र समानता’ कृति लोकार्पण



काठमाडौं, १५ साउन ।  छन्दवादी समाज, रूपन्देही र छन्द–तरङ्ग, नेपालको आयोजनामा नेपाली भाषा साहित्यका अथक साधक कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीद्वारा रचित महाकाव्य, कविता, खण्डकाव्य र सूक्तिसङ्ग्र्रहका विषयमा कवि तथा समालोचक सीता भट्टराईद्वारा अनुसन्धान गरिएको ‘डा. रामप्रसाद ज्ञवालीका कविता–काव्यमा वर्गद्वन्द्व र समानता’ नामक शोधग्रन्थको आइतवार सार्वजनिकीकरण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

जुम प्रविधिमार्फत् भएको उक्त कार्यक्रम कवि तथा समालोचक, प्राज्ञ डा. देवी नेपालको अध्यक्षता र शोधविशेषज्ञ प्रा.डा. महादेव अवस्थीको प्रमुख आतिथ्य रहेको थियो । कृतिमाथि वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डे, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, प्राज्ञ, कवि तथा समालोचक मित्रलाल पंज्ञानी र प्राज्ञ डा. गीता त्रिपाठीले कृतिमाथि समालोचनात्मक मन्तव्य, समीक्षा, विमर्श र शुभकामना प्रस्तुत गर्नुभएको थियो ।

यस कार्यक्रमका सभाध्यक्ष छन्द अभियन्ता डा.देवी नेपालबाट कार्यक्रमका विषयमा परिचय दिँदै अतिथि स्वागतका साथ शोधकर्ताको कृति लेखन र बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै अनुसन्धानीय कृतिको लोकार्पणमा गहनताबोध गराउँदै शोधकर्तालाई शुभाशीष प्रकट गर्नुभएको थियो । त्यसपछि प्रमुख अतिथिबाट कृति सार्वजनिकीकरण गरिएको थियो ।

सोही अवसरमा कवि तथा समालोचक प्रा.डा. हेमनाथ पौडेलले सीता भट्टराईको फरक धारको समालोचकीय दृष्टिकोणलाई प्रस्तुत गर्दै उहाँमा भएको पूर्वीय र पाश्चात्य दर्शनबीचको ठम्याइ र त्यस्ता सिद्धान्तमा तटस्थ रहेर अनुसन्धान गर्ने चेतना रहेको कुरा बताउनुभएको थियो । माक्र्सवादी सौन्दर्यशास्त्रलाई भट्टराईले गहन रूपमा अध्ययन गरेकैले ज्ञवालीका कविता काव्यमा प्रगतिवादी दृष्टिकोण पहिचान गर्न सक्नुभएको हो । उहाँसँग जीवनदर्शनलाई सही ढङ्गले बुझेर कृतिको समालोचना गर्न सक्ने क्षमता रहेको कुरा बताउनुभएको थियो ।

त्यसैगरी, प्रा. ताराकान्त पाण्डेले ज्ञवालीका कविता काव्यको दार्शनिक मान्यतामा ध्यान दिनुपर्ने कुरा बताउनुभयो । यसै सम्बन्धमा माक्र्सवादी दर्शन, भौतिकवाद, प्रगतिवाद र द्वन्द्वात्मक भौतिकवादका विषयमा उल्लेख गर्दै ज्ञवाली प्रगतिवादी विचारक हुनुहुन्छ । उहाँका कविता–काव्यमा भएका काव्यधर्मितालाई सोहीअनुसार हेरिनुपर्छ । सैद्धान्तिक मान्यता र विचारलाई हेर्ने दृष्टिकोणमा पनि सोही तथ्यको तालमेल हुनुपर्ने अन्यथा कविप्रति न्याय हुन नसक्ने कुरा बताउनुभएको थियो । यसै सन्दर्भमा भट्टराईले अनुसन्धान गर्नुभएको ज्ञवालीका कविता–काव्यमा वर्गद्वन्द्व र समानता नामक ग्रन्थ विद्यावारिधिकै समकक्ष बनेको र त्यस कृतिले प्राविधिक पक्षको यान्त्रिकताबाट मुक्त हुन सकेको भए अझ बढी मात्रामा मूल्यवान् र स्वतन्त्र हुने विचार प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी डा. गीता त्रिपाठीबाट कृतिको समीक्षा गरिएको थियो । उहाँले ज्ञवालीका कवितामा भएका ओजपूर्ण गुण, गुरु गुणी विचार प्रस्तुत गर्दै कृति गहन र पठनीय रहेको कुरा बताउनुभएको थियो । त्यस्तै, मित्रलाल पज्ञानीले ब्रह्ममात्र सत्य हो भन्ने नमानेर परिवर्तनउन्मुख समाजतर्पm लाग्नुपर्ने बताउनुभएको थियो । भट्टराईमा पूर्व र पश्चिमको भौतिकवादको राम्रो ज्ञान भएकोले कृतिलाई दुवैतर्पmका भौतिक चिन्तनबाट हेर्न सक्ने क्षमता रहेको कुरा बताउनुभयो । ज्ञवालीमा पनि समयअनुसार परिवर्तनशील बन्न सक्ने गुण रहेकोले सघन सङ्घर्षद्वारा सृष्टि सौन्दर्य र श्रम सौन्दर्यको चेतनातहलाई कविता काव्यमा उत्कृष्ट ढङ्गबाट समाजको यथास्थिति उतार्न सक्ने काव्य क्षमताबारे चर्चा गर्नुभएको थियो । यसै सन्दर्भमा प्राज्ञ माया ठकुरीले शोधकर्ता तथा शोधनायकलाई शुभकामना प्रदान गर्नुभएको थियो ।

कृतिका विषयमा अनुसन्धाताबाट लेखकीय मन्तव्य राख्दै कृति लेख्नुको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । यसै सन्दर्भमा आफूले ज्ञवालीको कविता कृतिलाई शोधनीय विषय बनाउनुमा उहाँका कृतिमा यथेष्ट मात्रामा वर्गद्वन्द्व र समानतामुखी विचार भएको र उहाँको जीवनशैली पनि सोहीअनुसार रहेकोले आफूले यो विषय लिएको तथ्य बताउनुभएको थियो । शोध विषयका शोधनायकले सिर्जना र साहित्य, अन्य विविध माध्यमबाट राष्ट्रका लागि अतुलनीय योगदान दिएकाले उहाँको प्रतिभा र योगदानका विषयमा सम्बद्ध निकायबाट मूल्याङ्कन हुन नसकेकोले आगामी दिनमा उहाँका योगदान र प्रतिभाको कदर गरिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
यसै सन्दर्भमा शोधपरक कृतिका नायक ज्ञवालीले अग्रज, तथा गुरुहरूको मार्गनिर्देशनबाट आफू लाभान्वित भएका दृष्टान्त प्रस्तुत् गर्दै आफ्ना विद्यार्थीबाट आफूबारे कृति तयारी भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो जीवनदर्शन बुझ्न अथवा मूल्याङ्कन गर्न अनुष्टुप् छन्दमा आफ्नो परिचय कविताबाट नै दिनुभएको थियो ।

हटाई रात बिस्तारै सुनौलो लालीमा छरी
सजाई धरती रातै रूपौला सिर्जना गरी
प्राप्त सगरमाथामा झुल्किन्छन् श्रमका रवि
म हुँ जागृतिको स्रष्टा श्रम सौन्दर्यको कवि ।

घुम्दै आकाशमा मेघ बजाउँदैछ दुन्दुभी
चुम्दै सञ्जीवनी लेक सजाउँदै छ औषधी
धराका गीत गाएर प्रीत बाँढ्दै छ कोयली
म हुँ सङ्गीतको स्रष्टा मूल्य सौन्दर्यको कवि ।

हिमालका कुरा हाँस्छन् खित्त तित्त हिमालमा
जलका झरना खुल्छन् हुत्त हुत्त पहाडमा
भरेर रङ्ग इन्द्रेनी भर्छ सौन्दर्यको छवि
म हुँ सौन्दर्यको श्रष्टा सृष्टि सौन्दर्यको कवि ।

सर्र वसन्त गर्दैछन् वसुन्धरा हराभरा
नयाँ जीवन छर्दैछन् धरा पारेर उर्वरा
सृष्टि काव्य रची धर्ती बनेकी छन् महाकवि
म हुँ जीवनको स्रष्टा सृष्टि सौन्दर्यको कवि ।

थकाई दिनको मेटी सन्ध्या शीतल आउँछिन्
पिलाई रातमा प्रीति रजनी गीत गाउँछिन्
निदरी छेउमै सुत्दै भन्दछिन् सुत हे कवि
म हुँ जागृतिको स्रष्टा श्रम सौन्दर्यको कवि
म हुँ आनन्दको स्रष्टा विश्व सौन्दर्यको कवि ।

प्रमुख अतिथि प्रा.महादेव अवस्थीले शोधनीय विषयबारे तार्किक विचार प्रस्तुत गर्दै शोधकर्ताले लेखकको व्यक्तित्वबाट प्रभावित भएर हैन– लेखकको कृतिको विशेषता र महत्वलाई हेर्नुपर्ने कुरा बताउँदै शोधका शीर्षकको सत्यापन शोधको विषयबाट नै ठम्याउन सकिने तथ्यबोध गराउनुभएको थियो । उहाँले भावी शोधकर्ताले ज्ञवालीबारे अध्ययन विश्लेषण र शोध गर्नका लागि सीता भट्टराईले तयार गरेका प्राक्कल्पनालाई प्रस्तुत गर्नुभएको थियो । प्रगतिवादी जीवनदृष्टिका कवि, समकालीन पुस्ताका शक्तिशाली कवि, समकालीन युगचेतनाका संवाहक, वर्गीय उत्पीडन विरोध र मुक्तिका कविजस्ता विविध प्राक्कल्पना प्रतिस्थापन भएको तथ्य खुलाउनुभएको थियो । उक्त शोधग्रन्थलाई भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम