Logo

एमालेमा दोस्रो पुस्ताका हस्ती यसकारण ओलीतिर



काठमाडौं, १५ साउन । नेकपा एमालेका दोस्रो पुस्ताका हस्ती नेताहरु अध्यक्ष केपी शर्मा ओलीतिर देखिएका छन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका उपाध्यक्ष भीम रावल पनि नेपाल पक्षमा छैनन् । उनी ओलीसँग नजिकिइसकेका छन् । सुरेन्द्र पाण्डे पनि माधव नेपालतिर रहने पक्षमा देखिएका छैनन् ।

दोस्रो पुस्ताका प्रभावशाली नेताहरुमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे हुन् । उनीहरुलाई एमालेको भावी नेतृत्वकर्ताका रुपमा हेरिएको छ ।

एमाले एकताका लागि रावल, पोखरेल, पौडेल, नेम्वाङ र पाण्डे सबैभन्दा सक्रिय छन् । उनीहरुले अबको नेतृत्व आफूहरुमध्येबाटै आउने देखेर पनि एकताको पक्षमा सशक्त रुपमा लागेका हुन् । त्यसका अलावा उमेरको हद पनि कारण छ ।

एमालेमा विगतमा ७० वर्षको उमेर हद राखिएको थियो । ७० वर्ष पुगेपछि जुनसुकै पदका नेताहरु पनि पार्टी कमिटीमा नरहने व्यवस्था थियो । उनीहरुलाई सल्लाहकार बनाइने प्रावधान थियो ।
माओवादीसँग एमालेको एकतापछि ७० वर्षे उमेरहद स्वतः खारेज भएको थियो । एमाले एकताले त्यतिबेला बामदेव गौतमलाई सबैभन्दा फाइदा पुगेको थियो । उनलाई माओवादीका कतिपय नेताले राजनीतिबाट सन्यास लिनबाट राकिदिएको भन्थे ।

रोचक पक्ष यो छ कि एमालेका ७० वर्ष पुग्न लागेका र कटेका हस्तीहरु माधवकुमार नेपाल पक्षमा छन् । माधव नेपाल केही महिनापछि ७० टेक्दैछन् । झलनाथ खनाल र बामदेव गौतम ७० कटिसकेका छन् । उनीहरु ७० को उमेर हद लागू गरियो भने स्वतः पार्टी कमिटीमा हुने छैनन् ।

उमेर हदको आशाले अहिले एमालेका दोस्रो पुस्ताका चार हस्तीहरु उत्साही देखिदैछन् । उनीहरु केपी शर्मा ओलीको उत्तराधिकारीको दौडमा देखिइसकेका छन् । ओलीले त्यस्तै परे उमेरहदको विषय राखेर कडा निर्णय लिन सक्ने भएकाले पनि दोस्रो पुस्ताका हस्तीहरु नेतृत्वमा पुगिने र एमाले एकता पनि बन्नेसम्मको आशामा छन् । तर, ओलीले त्यति सजिलै एमालेको नेतृत्व त्याग्ने सम्भावना तत्काल छैन ।



प्रतिक्रिया दिनुहोस्