Logo

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी, चैत मसान्तसम्म सबैलाई खोप



साउन १५, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका नियन्त्रणका लागि स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । प्रस्तावबारे कुनै निर्णय भने भएको छैन ।

सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् । कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रम देउवाले क्यूआर कोड लागू गर्न भनेका हुन् ।

शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्हो ।

त्यस्तै कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । थप १ हजार ८ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५२ हजार २६१ संक्रमित निको भएका छन् ।

यसैबीच सरकारले चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा कोभिड–१९ विरुद्धको खोप पुग्ने दावी गरेको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न माध्यमबाट खोप प्राप्त हुने क्रम जारी रहेकोले चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा खोप पुग्ने बताएको हो ।

स्वास्थ्य मन्त्रालयले थप खोपको लागि चीनको साइनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जानकारी दिएको छ । साथै, कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकि १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आँकलन गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्